पोखरालाई स्वास्थ्य तथा आरोग्य पर्यटनको हब बनाउने तयारी

Share:

पोखरा। पोखरालाई स्वास्थ्य र आरोग्य पर्यटनको हबका रूपमा विकास गर्ने उद्देश्यसहित सरोकारवालाहरूबीच राष्ट्रिय स्तरको कार्यशाला सम्पन्न भएको छ।

स्वास्थ्य विज्ञान तथा आरोग्य क्षेत्रमा सक्रिय विज्ञहरूको संस्था ‘मेडिकनेक्ट’ को आयोजना र व्यवस्थापनमा सम्पन्न कार्यशालामा पोखराको स्वास्थ्य र आरोग्य पर्यटन सम्भावनाबारे व्यापक छलफल गरिएको हो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रकृति, संस्कृति र साहसिक गतिविधिले परिचित पोखरामा स्वास्थ्य तथा आरोग्य पर्यटन प्रवर्द्धनको अपार सम्भावना रहेको बताए।

उनले ध्यान, योग र प्राकृतिक उपचारका माध्यमबाट पोखरालाई “स्वास्थ्य र आत्म-शान्तिको गन्तव्य” बनाउन सकिने उल्लेख गरे।

कार्यशालामा सहभागी विज्ञ र सरोकारवालाहरूले पोखरालाई समग्र पर्यटकीय राजधानीका रूपमा उभ्याउन सरकारी तथा निजी क्षेत्रको संयुक्त पहल अपरिहार्य रहेकोमा जोड दिए।

उनीहरूले पूर्वाधार निर्माणदेखि प्रवर्द्धनसम्मका कार्यहरूमा सहकार्यको आवश्यकता औंल्याउँदै स्वास्थ्य, आरोग्यता र पर्यटनलाई एकीकृत रूपमा अघि बढाउन आग्रह गरे।

कार्यशालाबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा पोखरामा स्वास्थ्य पर्यटन नीति र कार्ययोजना निर्माण गर्ने तयारी समेत गरिएको आयोजक मेडिकनेक्टले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: