
पोखरा । पोखरा महानगरपालिका-४ स्थित प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयका विद्यार्थीहरूले बुधबार फेवाताल किनारको फुटपाथ क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेका छन्। यो कार्यक्रम सन् १९५६ मा बेलायतका राजकुमार फिलिप, ड्युक अफ एडिनबराले स्थापना गरेको ‘ड्युक अफ एडिनब्राज इन्टरनेशनल अवार्ड’ कार्यक्रम अन्तर्गत गरिएको हो। विश्वका विभिन्न देशका विद्यालयहरूमा सञ्चालन हुने यो कार्यक्रमले युवाहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र समाजसेवाप्रतिको प्रतिबद्धता विकास गर्ने उद्देश्य राख्दछ।
विद्यालयका कार्यक्रम संयोजक शिक्षक अभिशेक विश्वकर्माका अनुसार, कुमुदिनी होम्सले हरेक वर्ष यस कार्यक्रमअन्तर्गत स्वयंसेवा, शारीरिक गतिविधि, सीप विकास र साहसिक यात्रा गरी चार चरणमा आधारित गतिविधि सञ्चालन गर्दै आएको छ। फेवाताल किनारको सरसफाइ कार्य यस वर्षको ‘स्वयं सेवा चरण’ अन्तर्गत गरिएको हो।
यस सरसफाइ अभियानमा ‘ब्रोनज अवार्ड’ का लागि सहभागी कक्षा ९ का ११ जना छात्र र ५ जना छात्रा सक्रिय रूपमा सहभागी भएका थिए। अभियानको नेतृत्व शिक्षक आशिष गुरुङले गरेका थिए।
स्थानीय बासिन्दाले विद्यार्थीहरूको यो पहलको प्रशंसा गर्दै वातावरण संरक्षण र सामाजिक जिम्मेवारीप्रतिको जागरणमा यस्तो कार्यले प्रेरणा दिने बताएका छन्।
