चापाकोट आधारभूत विद्यालयका विद्यार्थीलाई सुनौलो युवा उद्यमी संस्थाद्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण

Share:

पोखरा । सामाजिक उत्तरदायित्व अन्तर्गत सुनौलो युवा उद्यमी संस्था, पोखराले कास्कीको पोखरा-२३ चापाकोटस्थित चापाकोट आधारभूत विद्यालयका २७ जना विद्यार्थीलाई न्यानो कपडा, स्टेशनरी र खेलकुद सामग्री वितरण गरेको छ।

संस्थाले तिहारको अवसरमा देउँसी-भैलो कार्यक्रमबाट संकलित रकमबाट करिब ७० हजार रुपैयाँ बराबरको सामग्री विद्यालयका बालबालिकालाई हस्तान्तरण गरेको हो।

शुक्रबार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा सामग्री हस्तान्तरण वडाध्यक्ष रामकाजी गुरुङ, नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष चन्द्रकिशोर गौतम, नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष भविन्द्र विश्वकर्मा र सुनौलो युवा उद्यमी संस्थाका अध्यक्ष मनोज विश्वकर्मा ‘विनोद’ ले संयुक्त रूपमा गरे।

कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले भने, “ग्रामीण विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यस्ता सहयोगी कार्यक्रमले ठूलो योगदान पुर्‍याउँछ।”

त्यसैगरी महासंघ गण्डकीका अध्यक्ष गौतमले युवा उद्यमी संस्थाको सामाजिक योगदानलाई ‘प्रशंसनीय र अनुकरणीय’ भन्दै सबैको सहभागिताले मात्र संस्था सबल बन्ने बताए।

संघ कास्कीका अध्यक्ष विश्वकर्माले शिक्षाको क्षेत्रमा युवा उद्यमी संस्थाको सहभागिता गौरवपूर्ण रहेको उल्लेख गर्दै, “यसले व्यवसायी समाज पनि सामाजिक जिम्मेवारीप्रति संवेदनशील छ भन्ने सन्देश दिएको छ,” भने।

विद्यालयकी प्रधानाध्यापक यामकला थापा, मुल संयोजक दुर्गा बहादुर सुनार, संयोजक कमल सुनार र युवा उद्यमी विजय सुनारलगायतले ग्रामीण क्षेत्रका विद्यालयमा गुणस्तरीय शिक्षा भए पनि विद्यार्थीको आकर्षण कम हुने समस्यामा यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रम संस्थाका अध्यक्ष मनोज विश्वकर्मा ‘विनोद’को अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव श्रीकृष्ण सुनारले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: