
पोखरा । पोखरा–१५, रामबजारस्थित संगम बचत तथा ऋण सहकारी संस्था लिको आयोजनामा तथा हाइकर्स क्लब नेपालको सहआयोजनामा शनिबार पोखरा न्यूरोडस्थित संगम सहकारीको सुगम सेवा केन्द्र परिसरमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा ३२ युनिट रगत संकलन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी मेडिकल कलेजका एशोसिएट प्रोफेसर डा। हरिबहादुर केसीले पहिलो रक्तदाता, पर्यटन व्यवसायी नितिन शेरचनलाई सहभागिताको प्रमाणपत्र प्रदान गर्दै कार्यक्रमको उद्घाटन गरे।
डा। केसीले भने, “रक्तदान गर्नु भनेको सागको बोटबाट एउटा पात टिप्ने जस्तै हो, योग्य व्यक्तिले नियमित रक्तदान गर्नु नै जीवनदायी सेवा हो।”
संगम सहकारीका सल्लाहकार संयोजक निरज थापाले सहकारीले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै आएको जानकारी दिए।
त्यसैगरी, सहआयोजक संस्थाका अध्यक्ष कृष्ण रानाभाटले हाइकर्स क्लब नेपालले सामाजिक कार्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै भने, “सहकारीसँग सहआयोजक बन्न पाउँदा हामी गर्वान्वित छौं, आगामी दिनमा पनि यस्ता अभियानमा सँगै रहनेछौं।”
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश समितिका द्वितीय उपाध्यक्ष सागर कार्की, दरबारथोक टोल विकास संस्थाका अध्यक्ष मिलन केसी, चण्डिका आमा समूहकी अध्यक्ष विना श्रेष्ठ, र सहकारीका लेखा संयोजक भोविन्द्र गिरी लगायतका अतिथिहरूले रक्तदानलाई मानवसेवाको सर्वोत्तम रूपका रूपमा व्याख्या गर्दै शुभकामना व्यक्त गरे।
कार्यक्रम संगम सहकारीका अध्यक्ष नवराज तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत कार्यक्रम संयोजक तिलक थापाले र सञ्चालन हाइकर्स क्लब नेपालका सचिव मधु अधिकारीले गरेका थिए।
