
पोखरा। पोखरा महानगरपालिका-८, न्युरोडस्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। शनिबार कार्यक्रम दिव्यश्री बैंक्वेट, नागढुंगामा सम्पन्न भएको थियो। सभाको अध्यक्षता संस्थाका अध्यक्ष सुदिप अधिकारीले गरे भने प्रमुख अतिथि तथा ज्येष्ठ सदस्य डम्बर बहादुर क्षेत्रीले व्यानरमा हस्ताक्षर गरी सभाको उद्घाटन गरे।
अध्यक्ष अधिकारीले आफ्नो सम्बोधनमा सदस्यहरूको बचत र लगानीको संरक्षणलाई संस्थाको मुख्य प्राथमिकता बनाइएको बताए। उनले बजारका केही सहकारीहरूमा देखिएका समस्याले राम्ररी सञ्चालन भइरहेका सहकारीहरूको प्रतिष्ठामा पनि असर पारेको उल्लेख गर्दै, संस्थाको सफलता सदस्यहरूको निरन्तर चासो र सहभागितामा निर्भर भएको बताए।
यस्तै, सहकारीलाई अझ सुदृढ बनाउन सबै शेयर सदस्यको सक्रियता आवश्यक रहेको उनको भनाइ छ । अधिकारीले सहकारीको समृद्ध भविष्यका लागि शेयर सदस्यहरूको हित र पारदर्शी व्यवस्थापनमा आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
सभाको अवसरमा उत्कृष्ट आर्थिक कारोबार गर्ने सदस्यहरू अनमोल रत्न ताम्राकार, सूर्य गिरी र कमला हमाललाई सम्मान गरिएको थियो।कार्यक्रममा कोषाध्यक्ष एकराज गिरीले गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक विजेन्द्र शर्मा पौडेलले लेखा सुपरिवेक्षण प्रतिवेदन, र अध्यक्ष सुदिप अधिकारी तथा सचिव रूपकराज मिश्रले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा स्वास्थ्य कारण देखाउँदै दुई जना कार्यसमिति सदस्यले राजीनामा दिएपछि, नयाँ सदस्य चयनका लागि डा. विष्णु प्रसाद चापागाईंको संयोजकत्वमा नवराज सुवेदी र हर्षबहादुर अधिकारी मिराज सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
निर्वाचन समितिको सिफारिसमा प्रभाकुमारी राजभाट र दुर्गादत्त पौडेललाई नयाँ कार्यसमिति सदस्यका रूपमा निर्वाचित गरिएको छ। कार्यक्रमको सञ्चालन सचिव रूपक मिश्रले गरेका थिए। सभामा पोखरा महानगरपालिका-२४ का वडा सदस्य कृष्णप्रसाद सुवेदी र शेयर सदस्य कविता भुषालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सहकारीका सात सिद्धान्त संस्कृति अधिकारीले प्रस्तुत गरेको थियो।

