
पोखरा । गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले देशभित्रै विद्यार्थीलाई अवसर र विश्वास दिलाउन सक्ने शैक्षिक योजना र पाठ्यक्रम सुधार ल्याउनुपर्नेमा जोड दिएका छन्। शनिबार सम्पन्न त्रिवेणी इन्टरनेशनल कलेजको १०औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले विश्वविद्यालयका एकेडेमिक कोर्षले विद्यार्थीहरूलाई पर्याप्त भरोसा दिन नसक्दा विदेश पलायन बढेको उल्लेख गरे।
कुलपति तिवारीले गण्डकी विश्वविद्यालयले प्रविधि र अनुसन्धानमुखी शिक्षाको विकासमा केन्द्रित हुँदै पाठ्यक्रम तयार पारेको जानकारी दिँदै भने, “विद्यार्थीलाई रोजगारी र अध्ययन दुबै सम्भावना हुने किसिमको वातावरण विश्वविद्यालय र बजारले मिलाएर बनाउनु आवश्यक छ।”
उनका अनुसार, यसै शैक्षिक सत्रको अन्त्यसम्म विश्वविद्यालयबाट ६० जना आईटी विद्यार्थी बजारमा प्रवेश गर्ने तयारी भएको छ। उनले रोजगारीका अवसर सिर्जनाका लागि निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य हुनुपर्नेमा पनि जोड दिए।
कुलपति तिवारीले वर्तमान अभिभावकहरूले आफ्ना सन्तान विदेश जान खोज्दा मात्रै थाहा पाउने अवस्था बनिसकेको भन्दै देशमै उत्कृष्ट शैक्षिक वातावरण बनाउने सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली, लेखनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुरारी शर्मा, हिसान कास्कीका अध्यक्ष यमबहादुर रोका, भवानीकालिका माविका प्रधानाध्यापक रमेश भट्टराई, पूर्व अध्यक्ष राजेन्द्रमणि लामिछाने, निर्वतमान अध्यक्ष बाबुराम गिरी, कलेज प्रमुख यदुनाथ आचार्य, सहायक प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन मोहन भट्टराई, र एलुम्नाइ एशोसिएशनका अध्यक्ष असिम पाण्डे लगायतले कलेजको शैक्षिक उपलब्धि र गुणस्तरबारे धारणा व्यक्त गरे।
सभाको अध्यक्षता गर्दै कलेजका अध्यक्ष सुमन भट्टराईले शिक्षामा सरकारी, सामुदायिक र निजी क्षेत्रबीच वर्गीय विभेद गर्न नहुने बताउँदै, “शुल्क नहुँदा कोही पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ कलेजले छात्रवृत्ति व्यवस्था मिलाएको छ,” भने।
कलेजले आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीका लागि विभिन्न संघ-संस्थासँगको सहकार्यमा छात्रवृत्ति सुविधा उपलब्ध गराउँदै आएको छ। त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त त्रिवेणी इन्टरनेशनल कलेजमा हाल व्यवस्थापन संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका कक्षा सञ्चालन हुँदै आएका छन्। हाल कलेजमा करिब ६ सय विद्यार्थी अध्ययनरत रहेका छन्।
