
पोखरा। कास्कीको पर्यटकीय गन्तव्य माछापुच्छ्रे गाउँपालिकामा ‘पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा र माछापुच्छ्रे गाउँपालिका कार्यालयको समन्वयमा गाउँपालिका-६ हेम्जाकोटमा सम्पन्न कार्यक्रममा गाउँपालिका, स्थानीय निकाय, सरोकारवाला र पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सहभागीहरूले माछापुच्छ्रे गाउँपालिकाभित्रका पर्यटन सम्भावना, चुनौती र प्रचार/प्रसारका उपायहरूबारे धारणा व्यक्त गरे। वक्ताहरूले पत्रकारहरूले गाउँपालिकाभित्र रहेका पर्यटकीय सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले माछापुच्छ्रे क्षेत्रका धेरै गन्तव्य प्राकृतिक रूपमा आकर्षक भए पनि प्रचारको अभावले ओझेलमा परेका बताए। उनले गाउँपालिकाले विभिन्न स्थानहरूलाई व्यवस्थित गर्दै नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने कार्य अघि बढाएको उल्लेख गरे।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले समग्र पर्यटन विकासका लागि पत्रकार तथा स्थानीयवासीबाट रचनात्मक सुझाव र सहकार्यको अपेक्षा गरिन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले स्थानीय नागरिकले पर्यटन प्रवर्द्धनका अभियानमा गरेको सहभागिता सराहनीय रहेको बताए।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्था मगरले पत्रकार, पालिका र स्थानीयबीचको सहकार्यले पर्यटन विकासमा ठोस प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा हेम्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष इश्वर गुरुङ, वडा नं.५ का अध्यक्ष नारायण पौडेल, वडा नं. ६ का अध्यक्ष टेकनाथ गौतम, खेलकुद विकास समिति माछापुच्छ्रेका सदस्य सचिव होमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल र महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रमको सञ्चालन मञ्चका महासचिव परशुराम शर्माले, र स्वागत मन्तव्य उपाध्यक्ष राजाराम पौडेलले गरेका थिए।
दृष्टिविहीन क्रिकेटर विनिता पुन सम्मानित
त्यही अवसरमा नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टोलीकी सदस्य विनिता पुनलाई नगदसहित सम्मान गरिएको छ। विनिता कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ निवासी हुन्। उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो दृष्टिविहीन महिला खेलाडी हुन्।
आगामी नोभेम्बर १२ देखि २३, २०२५ सम्म भारत र श्रीलङ्कामा हुने पहिलो टी-२० दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि विनिता नेपाली टोलीमा चयन भएकी हुन्।
उनीमाथि गरिएको सम्मानका क्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ र नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्थाले संयुक्त रूपमा नगद ७ हजार ७ सय ७७ रुपैयाँ र सम्मानपत्र प्रदान गरे।
अध्यक्ष गुरुङले विनिताको उपलब्धि स्थानीयस्तरमा मात्र नभई देशकै गौरव भएको भन्दै उनलाई आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए।

