मनाङमा सम्पर्कविहीन भारतीय बाबुछोरीको शव फेला

Share:

पोखरा । मनाङ जिल्लामा कार्तिक ३ गतेदेखि सम्पर्कविहीन रहेका दुई भारतीय नागरिकको शव आइतबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरीले फेला पारेको छ। शव फेला पर्नेमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाइ पटेल तथा १७ वर्षीया प्रियन्साकुमारी पटेल (बाबु–छोरी) रहेको पुष्टि भएको छ ।

जिग्नेसकुमार र उनकी छोरी प्रियन्सा मनाङको ङिस्याङ गाउँपालिका-४ स्थित ग्याल्सेन होटलबाट गाउँपालिका-५ स्थित मिलेरेपा गुम्बा घुम्न जाने उद्देश्यले कार्तिक ३ गते हिँडेका थिए। त्यसयता उनीहरू सम्पर्कमा थिएनन्।

सम्पर्कविहीन भएपछि ग्याल्सेन होटलले सशस्त्र प्रहरी बल र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई खोजीकार्यका लागि जानकारी गराएको थियो। प्रारम्भिक खोजीमा कुनै संकेत नभेटिएपछि कार्तिक २३ गते सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीको कमान्डमा उद्धार सामग्रीसहित माउन्टेन रेस्क्यु तालिम प्राप्त टोली परिचालन गरिएको थियो।

उद्धार टोलीले मिलेरेपा गुम्बाबाट करिब १०० मिटर माथि हिउँले पुरिएको अवस्थामा शव फेला पारेको छ। सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, शवलाई घटनास्थलबाट तल झार्ने कार्य जारी रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: