
पोखरा। पोखरा महानगरपालिका र चीनको सुचाउ (Xuzhou) सिटीबीचको भगिनी सम्बन्धले नयाँ मोड लिएको छ। सुचाउ युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक झाङ् वि (Zhang Wei) पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग विशेष भेटघाटमा सहभागी भएका छन्। भेटका क्रममा शिक्षा, सूचना प्रविधि, कृषि, पूर्वाधार र पर्यटनलगायत विभिन्न क्षेत्रमा दुई पक्षीय सहकार्यका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।
प्रोफेसर झाङ् विले वैकल्पिक ऊर्जाको विकास तथा प्रवर्द्धन, पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा समेत सहकार्य गर्न सकिने बताए। साथै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुचाउ सिटीसम्म सिधा हवाई उडान सञ्चालनको सम्भावनाबारे आफ्नोतर्फबाट पहल गर्ने आश्वासन दिए।
नगरप्रमुख आचार्यले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन राजधानीका रूपमा प्रवर्द्धन गर्न चीनका विभिन्न नगरहरूसँगको सहकार्य बढिरहेको जानकारी दिँदै सुचाउ सिटी तथा विश्वविद्यालयलाई पनि आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता र कार्यक्रमहरूमा सहभागी हुन आमन्त्रण गरे।
“शिक्षा, प्रविधि, कृषि र पर्यटन विकासमा सहकार्यले दुवै शहरबीचको सम्बन्धलाई अझ सबल बनाउनेछ,” नगरप्रमुख आचार्यले भने।
प्रोफेसर झाङ् विले पोखरासँग साझेदारीका लागि आफूहरू उत्साहित रहेको बताउँदै निकट भविष्यमा औपचारिक सहकार्यका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाए। यो भेटघाटले पोखरा र सुचाउबीचको सम्बन्धलाई नयाँ ऊर्जा र दिशा दिने अपेक्षा गरिएको छ।
