पोखरामा मौलिक कोसेली घर निर्माण सुरु : गण्डकीको सांस्कृतिक पहिचान जगेर्नातर्फ नयाँ कदम

Share:

पोखरा । गण्डकी प्रदेशको समृद्ध सांस्कृतिक विविधता र मौलिक पहिचानलाई संरक्षण गर्दै प्रवद्र्धन गर्ने उद्देश्यले “मौलिक कोसेली घर” निर्माण कार्यको सोमबार पोखरामा शिलान्यास गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा-९ नयाँबजारस्थित गण्डकी प्रदेश संग्रहालय परिसरमा आयोजना गरिएको विशेष समारोहबीच कोसेली घरको शिलान्यास गरेका हुन्।

मुख्यमन्त्री पाण्डेले मौलिक घर निर्माणले प्रदेशको सांस्कृतिक सम्पदा संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे। उनले भने, “यो कोसेली घरले गण्डकी प्रदेशको सांस्कृतिक पहिचान झल्काउने मात्र होइन, आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने केन्द्र बन्नेछ।”

प्रदेश सरकारले सुशासन र पारदर्शिता कायम राख्दै भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले फेवाताल संरक्षणदेखि पर्यटकको बसाइ लम्ब्याउने कार्यमा प्रदेश सरकार सक्रिय रहेको बताए।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कोसेली घरजस्ता परियोजनामा स्थानीय समुदायको सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै भने, “मौलिक संस्कृति र परम्परालाई आधुनिक समाजमा जोगाएर राख्नु हाम्रो साझा जिम्मेवारी हो।” उनका अनुसार परियोजनाले लोपोन्मुख कला, शिल्प र परम्परागत वास्तुकलालाई पुनर्जीवन दिनेछ।

यस परियोजनाको कुल लागत रु. २ करोड ८३ लाख २७ हजार ९३२ रुपैयाँ रहेको र सम्झौता रकम रु. १ करोड ८५ लाख ८८ हजार २६४ रुपैयाँ रहेको छ। निर्माण कार्य आगामी असार मसान्तभित्र सम्पन्न गर्ने गरी टुडे बिल्डर्ससँग सम्झौता भएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर सुवेदीले जानकारी दिए।

पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले कोसेली घरले पोखरालाई सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। “यसले स्थानीय उत्पादनको बजार विस्तार र समुदायमा आर्थिक अवसर सिर्जना गर्न सहयोग पुर्‍याउनेछ,” उनले भने।

ठेकेदार कम्पनीका इन्जिनियर सिरश बास्तोलाले तोकिएको समयमा गुणस्तरीय निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

गण्डकी प्रदेश संग्रहालयको पृष्ठभूमि

सन् १९७२ मा युनेस्कोको सिफारिसमा क्षेत्रीय संस्कृतिको संरक्षणका लागि नेपालमा क्षेत्रीय संग्रहालय स्थापना गर्ने योजना बनेको थियो। त्यसैअनुसार धनकुटा, पोखरा र सुर्खेतमा संग्रहालय स्थापना गर्ने सरकारी निर्णय भएपछि पोखरामा जग्गा अधिग्रहण र भवन निर्माण सुरु गरिएको हो। वि.सं. २०४१ माघ २३ गते सर्वसाधारणका लागि खुला भएको पोखरा क्षेत्रीय संग्रहालय अहिले गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा छ।

२४ रोपनी क्षेत्रमा फैलिएको संग्रहालयले प्रदेशका विभिन्न जातजाति र समुदायका मौलिक संस्कार, भेषभूषा, खानपान र जीवनशैली झल्काउने सामग्रीहरूको संकलन, अभिलेखीकरण र प्रदर्शन गर्दै आएको छ।

संग्रहालय प्रमुख करुणा राईका अनुसार, आ।व। २०६७/६८ देखि सञ्चालनमा रहेको विद्यार्थी सदस्यता कार्यक्रमले युवामा सांस्कृतिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

कमेन्ट गर्नुहोस्
Share: