कास्कीमा जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न थप दुई जना पक्राउ

Share:

पोखरा। जेनजी आन्दोलनका क्रममा कास्कीमा भएका लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न रहेका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेकामध्ये मादी गाउँपालिका-५ भैसे निवासी २५ वर्षीय रोशन सापकोटा र पोखरा महानगरपालिका-१७ घारीकुलो निवासी ३८ वर्षीया बिमला सापकोटा रहेका छन्।

गत भदौं २४ जेनजी आन्दोलनको क्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरू, पसल र व्यक्तिगत घरहरूमा आगजनी, तोडफोड र लुटपाटका घटनाहरू भएका थिए। घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको पहिचान र खोजतलासलाई तीव्र पारेको थियो।

प्रहरीका अनुसार पक्राउ परेका दुबै जना आन्दोलनको क्रममा माइकिङ गर्दै मानिसहरूलाई उक्साउने, घर तोडफोड गर्न प्रोत्साहित गर्ने लगायतका गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रनाउ हरीबहादुर वस्नेतले पक्राउ परेकामाथि आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।

प्रहरीले हालसम्म यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी रहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: