
पोखरा । महिलामात्र सेयर सदस्य रहेको दीपशिखा महिला कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन सहकारीकी ज्येष्ठ सदस्य रामकुमारी आचार्यले गरिन् ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं. २९ की वडासदस्य निर्मला पौडेलले सहकारीले महिलालाई आत्मनिर्भर बनाउने अभियानका रूपमा महत्वपूर्ण योगदान दिँदै आएको बताइन्।
उनले भनिन्, “आयआर्जनका अवसरहरू सिर्जना गर्दै महिलालाई आर्थिकरूपमा सक्षम बनाउन दीपशिखा सहकारीले छोटो समयमा प्रशंसनीय प्रगति गरेको छ।”
पौडेलका अनुसार दीपशिखा पुस्तकालयको संयोजनमा स्थापना भएको सहकारीले हाल ४८० जना महिला सदस्यको सहभागितामा दुई करोड चार लाख ६९ हजार रुपैयाँ सेयर पुँजी संकलन गर्न सफल भएको छ।
उनले सदस्यहरूबीचको आपसी विश्वास र पारदर्शितालाई अझ सुदृढ गर्दै सहकारीलाई थप व्यावसायिक बनाउँदै लैजानुपर्नेमा जोड दिइन्।
कार्यक्रममा दीपशिखा पुस्तकालयका कोषाध्यक्ष तथा संस्थाका सल्लाहकार माधव भण्डारी, सल्लाहकार मेजर रामप्रसाद गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका सहकारी समन्वय उपसमिति संयोजक कृष्णप्रसाद तिमिल्सेना, संघकी उपमहासचिव गंगा मल्ल, र निवर्तमान अध्यक्ष गोमा कुमारी आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले सहकारीको दीगो विकासका लागि आर्थिक अनुशासन, सुरक्षित ऋण प्रवाह, र नियमित बचतको बानीलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए।
कार्यक्रम संस्थाकी अध्यक्ष शिवकुमारी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो।
सचिव कल्पना गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य व्यवस्थापक कृष्णकुमारी पोखरेलले गरेकी थिइन्।
साधारण सभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिका प्रतिवेदनहरू पारित गरिनुका साथै बाल बचत खाता सञ्चालन, असल कारोवारी, कृयाशील ज्येष्ठ सदस्यलगायत उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिएको थियो।
