
पोखरा। नेपाल परिवार नियोजन संघ कास्की शाखाले सञ्चालन गरेको यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान पोखराका विभिन्न विद्यालयमा तिव्र गतिमा अगाडि बढाइरहेको छ। हालै यो अभियान पोखरा महानगरपालिका-१७ को छोरेपाटन मावि र वडा नं.३३ को सरस्वती टिका माविमा सम्पन्न गरिएको हो।
संघका सभापति नवीन सिग्देलका अनुसार अभियानमा कक्षा ११ र १२ का किशोर-किशोरीहरूलाई सहभागी गराइएको छ। उनका अनुसार यो कार्यक्रम पोखरा र आसपासका २४ वटा विद्यालय तथा कलेजसम्म विस्तार गरिने योजना छ।
छोरेपाटन माविमा आयोजित कार्यक्रममा वडा नं. १७ की वडा अध्यक्ष राधिका शाही योगीले बढ्दो उमेरसँगै देखा पर्ने यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरूको समाधानका लागि यस्ता अभियान निकै उपयोगी हुने बताइन्।
त्यस्तै, सरस्वती टिका माविमा भएको कार्यक्रममा वडा नं. ३३ की कार्यवाहक वडा अध्यक्ष दुर्गा केसी थापाले युवाहरूमा यौन स्वास्थ्यप्रति सकारात्मक दृष्टिकोण विकासका लागि यस्ता सचेतना अभियानलाई अझ तिव्र बनाउन आग्रह गरिन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद पराजुली, प्रधानाध्यापक सूर्यराज अधिकारी र डिल्लीराम शर्मा लगायतले किशोर-किशोरीहरूलाई यौन शिक्षाको महत्वबारे प्रकाश पारेका थिए।
सहजीकरण नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी र कर्मचारी सुरज चौधरीले गरेका थिए। कार्यक्रम संघका सभापति नवीन सिग्देलको अध्यक्षतामा र नवराज तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो।
