पोखरा, बैशाख १८/ पोखरामा भएको चौथो संगम सेभेन ए साईड फुटबल प्रतियोगिता २०७१ को उपाधि मालेपाटन युनाइटेड क्लवले जितेको छ ।
माछापोखरीको खेल मैदानमा विहिबार निकै प्रतिष्पर्धाका बीच सम्पन्न भएको फाईनल खेलमा मालेपाटन युनाइटेडले पोखरा रामबजारको भ्याली स्पोटर्स क्लवलाई २–१ को गोल अन्तरले पराजित गरी उपाधि सहित ८० हजार प्राप्त गर्न सफल भयो ।
मालेपाटन युनाइटेडको जितमा म्यान अफ दी म्याच घोषित सुवास गुरुङले एक र सागर गुरुङले एक गोलको योगदान दिए । भ्यालीका राजकुमार घिसिङले एक गोल गरे । उक्त प्रतियोगिताको पहिलो संस्करणको विजेता भ्यालीले पाएका सागर गुरुङ केहि अवसरलाई सदुपयोग गर्न नसक्दा यसपाली उपविजेतामा सिमित हुनुपर्यो । उपबिजेता भएको भ्यालीले ४५ हजार पुरस्कार पायो । फाईनल खेल हेर्न दर्शकहरुको ठुलो भिड लागेको सचिव विवेक गुरुङले बताए ।
प्रतियोगितामा मालेपाटनका सुमन लामा उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा एफ.सी. ब्रर्दश बगर अनुसासीत टिम घोषित भयो । प्रतियोगितामा मालेपाटनका मिलन गुरुङ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्सको उपाधि मालेपाटनकै सौरव मगरले पाए भने उत्कृष्ट मिड फिल्डको उपाधि मालेपाटनकै विक्रम लामाले पाए । त्यसै गरी उत्कृष्ट स्टाईकरमा मालेपाटनका सुवास गुरुङले उपाधि पाए भने लेकसाइडका नरेस केसीले प्रतियोगितामा ८ गोल गरी सर्वाधिक गोल कर्ताको उपाधि पाए । प्रतियोगितामा विभिन्न क्लवहरुले पुर्व राष्ट्रिय खेलाडी तथा ए डिभिजनका खेलाडीहरुलाई भित्राएका थिए ।
प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि कास्की जिल्ला फुटवल संघका अध्यक्ष गोपी बहादुर भट्टराइ, उपाध्यक्ष द्धय मिलन गुरुङ, कुमार गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने, क्लवका अध्यक्ष मणिप्रसाद गुरुङ लगायतले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका हुन । वैशाख १० गते देखि सुरु भएको प्रतियोगितामा ५२ टीमको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
