पोखरा उवा संघको व्यापार मेलामा जोडियो नेपाल मणिपाल अस्पताल, आगामी मंसिर १७ गतेदेखि २१ गतेसम्म नयाँबजारमा मेला आयोजना हुने

Share:

पोखरा। पोखरा उद्योग वाणिज्य संघले हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण र १३ औं क्यान इन्फोटेक २०८२ यसपटक नेपाल मणिपाल अस्पतालसँगको सहकार्यमा हुने भएको छ। मेला मंसिर १७ देखि २१ गतेसम्म पोखरा-९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुनेछ।

मेलामा सहकार्यका लागि संघका अध्यक्ष गोकर्ण कार्की र नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलबीच हस्ताक्षर भएको छ। सम्झौतापछि मेलाको आधिकारिक नाम ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक पोखरा २०८२’ रहनेछ।

अध्यक्ष कार्कीका अनुसार पोखरा उद्योग वाणिज्य संघले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई आधार बनाउँदै पोखरालाई बहुमुखी विकासको केन्द्र बनाउने लक्ष्यसहित काम गर्दै आएको छ। उनी भन्छन्, “पोखरा स्वास्थ्य पर्यटनको केन्द्र बन्छ। हावापानी, वातावरण र गुणस्तरीय सेवा मिल्यो भने विश्वभरका पर्यटक उपचारका लागि पोखरा आउँछन्।”

उनका अनुसार मणिपालसँगको सहकार्यले मेलालाई मात्र होइन, पोखराको स्वास्थ्य पहिचानलाई विश्वस्तरमा चिनाउन मद्दत गर्नेछ। नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी निर्देशक ओडुभिलले संस्था पोखरालाई स्वास्थ्य-लाभको प्रमुख केन्द्र बनाउने लक्ष्यसहित अगाडि बढिरहेको बताए।

उनका अनुसार हामीले विश्वस्तरको सेवा सस्तो शुल्कमा उपलब्ध गराइरहेका छौँ। संघले विभिन्न समयमा दिएको सहयोगबारे उनले आभार व्यक्त गरे। संघका उद्योग उपाध्यक्ष दीनेश बास्तोलाका अनुसार मणिपालसँगको सहकार्यपछि अन्य उद्योग-व्यवसाय पनि मेलासँग जोडिने क्रम तीव्र बन्दैछ।

वाणिज्य उपाध्यक्ष बलराम आचार्यले यस वर्ष सीमित स्टल मात्र रहने र बुकिङ खुला गरिएको जानकारी दिए। महासचिव शोभा गौतमले नेपाली लगानी र व्यवसायको मनोबल बढाउन मेलाले महत्वपूर्ण भूमिका खेलेको बताइन्।

पूर्व अध्यक्ष अशोक पालिखेका अनुसार संघले २०४० सालदेखि नै पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन सहरको रूपमा विकास गर्ने अभियान सुरु गरेको हो। तत्कालीन समयमा शैक्षिक संस्थाहरूको स्थापना, पर्यटन परिषद् गठन, जनशक्ति तालिम तथा स्वास्थ्य संस्थाको पहल जस्ता गतिविधि संघकै अगुवाइमा भएको उनले स्मरण गरे।

पोखरालाई स्वास्थ्य-लाभको थलो बनाउने अवधारणा पनि त्यही समयदेखि सुरू भएको पालिखेले बताए। उनले पोखरामा पदयात्रा मार्ग निर्माण, जग्गा अधिग्रहण योजना, पर्यटन अध्ययनजस्ता अभियानमा सरकारी साथ नपाएको गुनासो पनि गरे।

नेपाल मणिपाल कलेजमा बतास अर्गनाइजेसन र अटोवेज प्रालिलगायत पोखराका अग्रणी समूहको लगानी रहेको छ। संघले यसअघि नै मणिपाललाई उत्कृष्ट व्यावसायिक सम्मान प्रदान गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: