एक्यान कास्कीमा नयाँ नेतृत्वको शपथ : लेखा व्यवसाय सुदृढीकरणका लागि एकजुट हुने घोषणा

Share:

पोखरा। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) कास्कीको नवनिर्वाचित कार्यसमिति शपथग्रहण समारोह तथा सामाजिक सुरक्षा कोषसम्बन्धी अन्तरक्रिया कार्यक्रम आइतबारपोखरामा सम्पन्न भयो। कार्यक्रम एक्यान कास्कीले सामाजिक सुरक्षा कोषसँगको सहकार्यमा आयोजना गरेको हो।

कार्यक्रममा एक्यानका केन्द्रीय अध्यक्ष अनुप नेपाल, उपाध्यक्ष अनिल लामिछाने र महासचिव प्रदीप अर्यालले कास्की शाखाको नवगठित कार्यसमितिलाई शपथ गराए। हालै सम्पन्न अधिवेशनले दीपक भुर्तेलको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन गरेको थियो।

नयाँ कार्यसमितिको अध्यक्षमा दीपक भुर्तेल, उपाध्यक्षमा सागर आचार्य सचिवमा प्रकाश पौडेल तथा कोषाध्यक्षमा सरोज पराजुली सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरूमा आशिष विक्रम शाही, दीपक पाण्डे, सिमा रिजाल, श्रीकृष्ण रेग्मी तथा सुरज बस्नेत सर्वसम्मत रूपमा भएका छन् ।

शपथपछि अध्यक्ष भुर्तेलले लेखापरीक्षण सेवा समृद्ध बनाउन सबै पेशेवर एकजुट हुनुपर्नेमा जोड दिए। उनी भन्छन्, “लेखा व्यवसायलाई अब्बल बनाउन सहकार्य अपरिहार्य छ। मेरो टिम त्यसका लागि सक्रिय रूपमा काम गर्छ।”

केन्द्रीय अध्यक्ष अनुप नेपालले एक्यानका गतिविधि केन्द्रमा मात्र सीमित नभई प्रदेश र जिल्ला तहसम्म सक्रिय बनाइने बताए। “हामी संस्थालाई अझ मजबुत, प्रभावकारी र व्यवस्थित बनाउने छौँ,” उनले भने।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले रोजगारदाता तथा श्रमिकमा कोषको फाइदाबारे सचेतना बढाउन एक्यान सदस्यहरूको भूमिका महत्वपूर्ण हुने बताए।

अधिकारीले भने, “कोष लागू भएपछि उपचार सेवा सस्ता भएका छन्, हड्ताल र बन्दको समस्या घटेको छ-रोजगारदाता र श्रमिक दुवै लाभान्वित छन्।”

सह-निर्देशक महेश घिमिरेले अब कोषमा आबद्ध भएपछि मात्र व्यक्तिगत तथा साझेदारी फर्मले कर चुक्ता निकाल्न सक्ने व्यवस्था लागू गर्न लागिएको बताए।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कार्यक्रम उपयोगी भए पनि उद्योग तथा व्यवसायमा पूर्ण कार्यान्वयन हुन नसकेको बताउँदै सुधार आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा एक्यान गण्डकीका पूर्व प्रदेश प्रमुख सागर लामिछाने, अडान गण्डकीका अध्यक्ष ज्ञानबहादुर कार्की, तथा कास्कीका अध्यक्ष गुणनिधि पाण्डेले सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी, पारदर्शी र व्यवसाय-मैत्री बनाइनुपर्नेमा जोड दिए।

नेपालमा लेखा व्यवसायको विकास, संरक्षण र पेशागत मर्यादा उकास्ने उद्देश्यले स्थापित एक्यानमा सीएहरू मात्र सदस्य हुन्छन्। हालै केन्द्रदेखि जिल्ला तहसम्म नयाँ नेतृत्व चयन भइरहेको क्रममा पोखराका अनिल लामिछाने केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन्।

काठमाडौँ बाहिरबाट पहिलोपटक केन्द्रीय नेतृत्वमा पुग्न सफल उनी एक्यानको महत्वपूर्ण व्यक्तित्व बनेका छन्।

कमेन्ट गर्नुहोस्
Share: