
रञ्जन अधिकारी पोखरा, १७ असोज / कास्कीको पर्यटकीय गाउँ सिक्लेसका युवाहरुको सक्रियतामा त्यहाँको संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि पोखरामा सांस्कृतिक साँझ आयोजना हुने भएको छ । मौलिक कला संस्कृतिको संरक्षण, पर्यटनमा प्रवद्र्धन नाराका साथ सिक्लेस युथ क्लबको आयोजनमा असोज २३ गते पोखरा सभागृहमा सांस्कृतिक साँझ आयोजना गरिने क्लबले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
क्लबका अध्यक्ष समेत रहेका सांस्कृतिक साँझ संयोजक देवीजंग गुरुङले ग्रामिण पर्यटनको प्रवद्र्धन गर्न, क्लबले आयोजना गर्दै आएको सिक्लेस माघेमेला संचालनका लागि अक्षयकोषमा रकम थप गर्न, कलाकारहरुको प्रतिभा प्रस्फुटन गर्न, सिक्लेस पार्चे बहुउद्देश्यीय भवन संचालनमा सहयोग गर्न, सिक्लेक ईको म्युजियममा सहयोग गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा नृत्य निर्देशक तेज गुरुङले साँझमा सिक्लेस चिनारीको मौलिक सांस्कृतिक कार्यक्रम हुने बताउँदै पौराणिक घाँटु, कृष्ण चरित्रका साथै विविध लाईभ प्रस्तुति समेत हुनेछ । सिक्लेस चिनारी सम्बन्धी सन्देशमुलक डकुमेन्ट्री प्रस्तुत हुने जनाउँदै उनले गुरुङ कलाकारका प्रतिभा प्रस्फुटन समेत हुने बताए ।
सचिव देवीजंग गुरुङले सिक्लेसी युवाहरुको पहिलो प्रयासमा कार्यक्रम आयोजना हुन लागेकाले सम्पूर्ण पोखरेलीको साथ रहने विश्वास दिलाए । उनले कार्यक्रममा १२ लाख आय तथा साढे ५ लाख खर्च भई साढे ६ लाख बचत हुने विश्वास लिएको बताए ।
