
पोखरा। नेपाल खानेपानी संस्थान प्रधान कार्यालयले संस्थानका विभिन्न शाखामा कार्यरत कर्मचारीका लागि २ दिने पानी मापन मिटर व्यवस्थापन तथा परीक्षण तालिम सम्पन्न गरेको छ। पोखरा शाखा कार्यालयको सभाहलमा सम्पन्न उक्त तालिममा २२ जना कर्मचारीले सहभागिता जनाए।
तालिम शाखा प्रमुख ई. बुद्धरत्न महर्जनको अध्यक्षतामा आयोजित कार्यक्रममा जलेश्वर शाखाका निमित्त प्रमुख सुरेन्द्रकुमार साह, विन्ध्यवासिनी इकाई कार्यालयका प्रमुख लक्ष्मण पाण्डे, पोखरा शाखाकी सिमिरि विमल तिल्सिना तथा जाईकाका प्रतिनिधि मियो सानले प्रशिक्षकको भूमिका निर्वाह गरे। प्रशिक्षकहरूले प्राविधिक सीपको सुदृढिकरण र दक्ष जनशक्ति विकास संस्थानको प्रमुख प्राथमिकता भएको पुनः स्मरण गराए।
समापन कार्यक्रममा प्रशिक्षक सुरेन्द्रकुमार साहले तालिममा प्राप्त ज्ञान र सीपलाई दैनन्दिन कार्यमा लागू गर्न आग्रह गरे। सहभागीहरूको तर्फबाट हेम्जा शाखाका कर्मचारी प्रधुम्न बस्नेतले तालिम अत्यन्तै फलदायी र व्यवहारिक रहेको बताए।
सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिम शाखा प्रमुख महर्जनले कर्मचारी क्षमता विकासलाई संस्थानले निरन्तर प्राथमिकताका रूपमा अघि बढाइरहेको बताए। उनले, “उपभोक्तालाई सहज सेवाप्रदान गर्ने उद्देश्यले दक्ष र जिम्मेवार जनशक्ति उत्पादनमा तालिम महत्वपूर्ण कडी हो,” भन्दै सिकेको सीपलाई प्रत्यक्ष कार्यक्षेत्रमा उतार्न सबैलाई प्रेरित गरे।
तालिम सञ्चालनमा लेखा प्रमुख पुष्पराज जोशी, बजेट शाखाका प्रमुख दिपेश्वर मण्डल, प्रधान कार्यालयकी कर्मचारी निशा प्रधानाङ्ग लगायतको सक्रिय भूमिका रहेको पोखरा शाखाका कर्मचारी वसन्तराज भण्डारीले जानकारी दिएका छन्। २ दिने तालिमले कर्मचारीको टेक्निकल दक्षता र सुपरीवेक्षण क्षमतामा थप ऊर्जा भरिदिएको सहभागीहरूको अनुभूति थियो।
