
पोखरा । पोखराका विभिन्न शिव मन्दिरहरू आज बिहानैदेखि भक्तजनको भीडले भरिएका छन्। दिवंगत पितृको मोक्ष र पुण्य प्राप्तिको कामना गर्दै भक्तहरूले सतबीज छर्दै बाळाचतुर्दशी पर्व भव्य रूपमा मनाएका छन्। धार्मिक पर्यटकीय स्थल घार्मीस्थित पोखरा-१९ को मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिरमा सयौँ भक्तजनको सहभागितामा सद्विज छरेर पर्व उल्लासपूर्वक मनाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए। विभिन्न ध्वजापताका र तोरणले सजिएको मन्दिरमा बिहानैदेखि दर्शन तथा सद्विज छर्न भक्तजनको लामो लाइन लागेको थियो।
रूद्री पुजा पश्चात् मात्र सद्विज छर्ने परम्परा भए पनि बिहानैदेखि भीड थामिन नसकेको स्थानीय प्रेमबहादुर जिसीले बताए। स्थानीय नारायणप्रसाद पौडेलको घरबाट विधिपूर्वक पूजा-आजासहित निकालिएको फूलको डोली बाजागाजा, भजन-कीर्तन र परिक्रमा गर्दै मन्दिर परिसरमा पुर्याइएको थियो। फूलको डोली बोक्दा मनोकामना पूरा हुने जनविश्वास रहेकाले वर्षेनि यात्रुहरूको आकर्षण बढ्दै गएको उल्लेख गरिएको छ।
लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरन्चौरलगायत क्षेत्रबाट भक्तजन देखिन्थे। धार्मिक वातावरण झनै सुरिलो बनाउन विश्व हिन्दू महासंघ पोखरा-१९, भूमे मैदान भजन समूह तथा स्थानीय युवाहरूले दिनभर भजन-कीर्तनमार्फत मन्दिर परिसरमा आध्यात्मिक माहोल सिर्जना गरेका थिए। स्थानीय आमा समूहले भक्तजनका लागि पानी तथा प्रसाद वितरण गरी सेवा प्रदान गरे।
मन्दिरको व्यवस्थापनलाई पछिल्ला वर्षहरूमा विभिन्न व्यक्ति र संस्थाको सहयोगले अझ व्यवस्थित बनाइएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले बताए। शतबीज छर्नाले भगवान शिव प्रसन्न हुने, अर्को जुनीका लागि पुण्य सञ्चय हुने तथा मृतकका पाप नाश हुने धार्मिक मान्यता रहेको पण्डित गुरुदत्त लामिछानेले उल्लेख गरे। स्थानीय अनिता बराल पौडेलका अनुसार शतबीज छर्ने परम्परा श्रद्धा, संस्कार र पितृभक्तिको प्रतीक हो।
यता, पोखरा-१६ को घार्मीखोलास्थित सर्वेश्वर शिव मन्दिरमा पनि पहिलो पटक बाळाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ। मन्दिर स्थापना पछिको यो पहिलो ठूलो धार्मिक समारोहका क्रममा भक्तहरूले आफ्ना दिवंगत पितृको सम्झनामा सतबीज छरेको पण्डित प्रकाश भट्टराईले जानकारी दिए।
