धार्मिक-पर्यटकीय महाप्रभुधाममा भीड, १२ करोडको विकास योजनासहित शतबीज परम्परा सकियो

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं-१३ स्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको महाप्रभुधाममा आज शतबीज छर्ने परम्परा भव्य रूपमा सम्पन्न भएको छ। दुई शताब्दीभन्दा पहिलेदेखि आस्था र विश्वासको केन्द्रका रूपमा रह आएको महाप्रभुधाममा बालाचतुर्दशीका अवसरमा प्रत्येक वर्षझैँ आज पनि भक्तजनहरूको ठूलो उपस्थिति देखियो।

बालाचतुर्दशी विशेषका दिन आजै श्री महाप्रभुधाम पर्यटकीय क्षेत्र विकास समितिद्वारा रूद्राभिषेक, राष्ट्रिय खुल्ला भजन प्रतियोगिता तथा महाआरती सहित विभिन्न धार्मिक कार्यक्रम आयोजना भएकाले बिहानैदेखि मन्दिर परिसर श्रद्धालुले खचाखच थियो।

समितिका अध्यक्ष नवराज बरालका अनुसार पछिल्ला वर्षमा पोखरासहित आसपासका क्षेत्रबाट शतबीज छर्न आउने भक्तजनको संख्या लगातार बढिरहेको छ।

महाप्रभुधामलाई व्यवस्थित धार्मिक-पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बिस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको वडा अध्यक्ष किरण बरालले बताए। डिपीआर अनुसार यहाँको समग्र विकासका लागि झण्डै १२ करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान छ।

समितिका उपाध्यक्ष सूर्यप्रसाद बरालका अनुसार यहाँबाट पोखरा उपत्यकासहित अन्नपूर्णदेखि लमजुङ हिमालसम्मका मनोरम दृश्य एकै ठाउँबाट अवलोकन गर्न सकिने भएकाले महाप्रभुधामको आकर्षण झनै बढेको छ।

बालाचतुर्दशीकै दिन आयोजित राष्ट्रिय खुल्ला भजन-चुड्का प्रतियोगितामा माछापुच्छ्रे सेवा समाज, हेमजा प्रथम, धर्मस्थली भजन समूह, मालेपाटन द्वितीय, विश्व हिन्दू महासंघ, चाउथे तृतीय तथा ज्येष्ठ नागरिक समूह, छिनेडाँडा सान्त्वना बनेका छन्। उत्कृष्ट नृत्यतर्फ मनिका भुजेललाई पुरस्कृत गरिएको समितिका सचिव भोजराज बरालले जानकारी दिए। प्रतियोगितामा आठ समूह सहभागी थिए।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेताले क्रमशः ५० हजार, ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए। उत्कृष्ट नृत्य प्रदर्शनलाई ३ हजार, र सहभागी सबैलाई २/२ हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरियो।

सल्लाहकार शिरोमणि बरालका अनुसार समुद्री सतहबाट १,३३५ मिटर उचाइमा रहेको यो स्थलमा प्राचीनकालमा स्वर्गद्वारीबाट आएका महाप्रभुहरूले कोटि होमसहित महायज्ञ सम्पन्न गरेपछि यस स्थानलाई ‘महाप्रभुधाम’ नामले चिनिन थालिएको हो।

कमेन्ट गर्नुहोस्
Share: