युवा कलाकारबीच चित्रकला प्रदर्शनीद्वारा ‘पुर्नमिलन’

Share:

रञ्जन अधिकारी पोखरा, १८ असोज / पोखराका युवा कलाकारहरुले सिर्जना गरेका चित्रहरुको सामुहिक प्रदर्शनी सोमबारदेखि सुरु भएको छ । महेन्द्रपुल स्थित पोखरा आर्ट ग्यालरीमा पाँच दिनसम्म चल्ने सो प्रदर्शनीमा १४ युवाहरुका कलाकृति समाविष्ट छ ।

अग्रज कलाकार बुद्धि गुरुङको ‘बुद्धिज् एटलियर, वाटर कलर आर्ट ग्यालरी’ को आयोजनामा भएको चित्रकला प्रदर्शनीको शीर्षक ‘पुनर्मिलन’ राखिएको छ । प्रदर्शनीमा ६१ चित्रहरु राखिएका छन् । कला पारखीहरुले चित्रहरुको खरीद समेत गर्न सक्नेछन् । बुद्धिज् एटलियरमा पछिल्लो क्रममा प्रशिक्षण लिएका किशोर तथा युवाहरुलाई पुर्नमिलन गराई सामुहिक प्रदर्शनी गरिएकाले शीर्षक ‘पुनर्मिलन’ जुटाईएको कला प्रशिक्षक बुद्धि गुरुङले जानकारी दिए ।

कलाकार प्रायः १७ वर्षदेखि २० वर्ष उमेर समूहभित्रका छन् । अखिलेश श्रेष्ठ, एलिता गुरुङ, विनिशा शेरचन, विपिन श्रेष्ठ, हेमकान्ति गुरुङ, ज्योति गुरुङ, कृति गुरुङ, मीना गुरुङ, निकिता श्रेष्ठ, निश्चल खड्गी, ओसुवा गुरुङ, सुविन गुरुङ, शुशान्त पुन र देवेन्द्र गुरुङका चित्रकला प्रदर्शनीमा राखिएका छन् । उनीहरुले अग्रज कलाकारकै स्तरमा सुन्दर चित्र सिर्जना गरेको भन्दै सहभागीहरुले प्रशंसा गरेका थिए ।

सो अवसरमा पोखराका पाँच पत्रकारलाई सम्मान समेत गरियो । स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष एवं आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोला, द हिमालयन टाईम्स क्षेत्रीय ब्युरो प्रमुख भरत कोईराला, कान्तिपुर दैनिकका पोखरा संवाददाता शिव शर्मा चञ्चल, कास्की आवाज दैनिककी अध्यक्ष सरस्वती गुरुङ र सञ्चारकर्मी कविता श्रेष्ठलाई सम्मान गरिएको हो । प्रमुख अतिथि साहित्यकार एवं संस्कृतिविद् तीर्थ श्रेष्ठ, अग्रज कलाकार दुर्गा बराल वात्स्यायन, कला प्रशिक्षक बुद्धि गुरुङ लगायतले चित्रकला नै प्रदान गरी सम्मान गरेका हुन् ।

प्रमुख अतिथि श्रेष्ठले साढे तीन दशकदेखि अनवरत कलाक्षेत्रमा क्रियाशील बुद्धि गुरुङको प्रशिक्षण, कलाकारहरुको लगनशीलता र अभिरुचिको संयोजनका रुपमा यो प्रदर्शनीलाई ग्रहण गरेको बताए । ‘बुद्धिद्वारा प्रशिक्षित कलाकारहरुमा संभावनाको उज्यालो देखा पर्न थालेका छन् ।’ उनले भने– ‘यो प्रदर्शनीमा राखिएका चित्रहरुले पनि पुष्टि गर्दछ ।’

यस्तै, कार्टुनिष्ट दुर्गा बरालले विभिन्न विद्यालयमा कला शिक्षकका रुपमा रहेर धेरै विद्यार्थी युवाको कला सम्बन्धी ज्ञान र चेतना विस्तारमा लागेका बुद्धि गुरुङले २०५६ सालदेखि हालसम्म निरन्तर बुद्धिज एटलियर ग्यालरीमा प्रशिक्षण दिँदै आएकोमा खुशी व्यक्त गरे । आफूद्वारा प्रशिक्षित यिनै कलाकारहरुद्वारा सिर्जना गरिएका २०६५ साल यताका चित्रहरुको प्रदर्शनी गरेर कलाकारहरुको प्रतिभाहरुलाई जनसमक्ष ल्याउने र उनीहरुलाई प्रोत्साहन गर्ने कार्य गर्नु आफैंमा प्रशंनीय रहेको बताए ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटले आफुबाट प्रशिक्षत भाइबहिनीहरुको कला प्रष्फुटन गर्ने कार्य गर्नु आफैंमा सराहनीय भएको बताउँदै विभिन्न जातजाति, भाषा, धर्मले विविधतायुक्त हाम्रो मुलुकका संस्कृतिलाई कलामा उतार्न सके प्रचारप्रसारमा टेवा पुग्ने बताए । बुद्धि गुरुङले पनि पोखरा, काठमाण्डौं र दक्षिण कोरिया गरी करीब दर्जन पटक नै एकल प्रदर्शनी गरिसकेका छन् । उनले दुर्गा बरालको प्रेरणामा २०३६ सालदेखि यो क्षेत्रमा क्रियाशील रहेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: