पोखरामा स्थानीय पाठ्यक्रममार्फत ‘जीवन उपयोगी सीप शिक्षा’ लागू, २० विद्यालयका १४०० विद्यार्थी प्रत्यक्ष लाभान्वित

Share:

पोखरा । पोखरा महानगरपालिकाले स्थानीय पाठ्यक्रमभित्र ‘जीवन उपयोगी सीप’ शिक्षा औपचारिक रूपमा लागू गरेको छ। बाल हितकारी परियोजना नेपाल र किडाशाको प्राविधिक सहयोगमा सञ्चालन भएको यो कार्यक्रमले आधारभूत तह (कक्षा ६-८) का विद्यार्थीलाई व्यवहारिक सीप सिकाइमा जोड दिने लक्ष्य राखेको छ। महानगर शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यका अनुसार महानगरले विनिर्माण गरेको स्थानीय पाठ्यक्रममा जीवनोपयोगी सीप सम्बन्धी विषय समावेश भए पनि शिक्षासामग्री अभाव थियो।

“यही आवश्यकताका बीच दुई संस्थाले शिक्षक सहजीकरण निर्देशिका तयार गरेर सहयोग गरे, जसले शिक्षामा नयाँ मानक स्थापित गर्न मद्दत पुग्छ,” उनले २५औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रममा बताए।

२० विद्यालयमा १४०० विद्यार्थी सहभागी

संस्थाका अध्यक्ष रामचन्द्र शर्माले सन् २०२२ देखि सञ्चालनमा आएको परियोजनाबाट हालसम्म २० सामुदायिक विद्यालयका १,४०० विद्यार्थी प्रत्यक्ष लाभान्वित भएको उल्लेख गरे। “विद्यालय, शिक्षक, अभिभावक र समुदायबाट देखिएको सकारात्मक परिणामका कारण महानगरले कार्यक्रमलाई निरन्तरता र विस्तारमा सहयोग गरिरहेको छ,” उनले भने।

शर्माका अनुसार स्थानीय पाठ्यक्रममा जीवन उपयोगी सीपका लागि १८ पाठ्यघण्टा छुट्याइएको छ। यसको प्रभावका रूपमा विद्यार्थीमा आत्मजागरणको वृद्धि, प्रभावकारी सञ्चार, अन्तरव्यक्ति सम्बन्ध, समस्या समाधान क्षमता, निर्णय गर्ने कला, तनाव व्यवस्थापन सिर्जनात्मक र समालोचनात्मक सोचजस्ता सीपहरू मजबुत हुँदै गएको विवरण प्रस्तुत गरियो।

८० सामुदायिक विद्यालयमा कार्यक्रम लागू

संस्थाले पोखरा महानगरका ८० सामुदायिक विद्यालयमा जीवनोपयोगी सीप कार्यक्रम विस्तार गर्न सफल भएको बताउँदै अध्यक्ष शर्माले कार्यक्रमका सकारात्मक उपलब्धि साझा सिकाइको महत्वपूर्ण उदाहरण भएको उल्लेख गरे। पोखरा-१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले सभाको उद्घाटन गर्दै जीवन उपयोगी सीप शिक्षा समुदायस्तरमै अत्यन्त प्रभावकारी सिद्ध भइरहेको धारणा राखे।

स्थानीय पाठ्यक्रम विकास कार्यदल संयोजक तथा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले शिक्षक सहजीकरण निर्देशिकाले शिक्षण विधिमा नवीनतम अभ्यास समेटेर शिक्षकलाई सहज बनाएको बताए। यसले विद्यार्थीको सिकाइलाई रोचक, व्यावहारिक र समान पहुँचमा पुर्‍याउने काम गर्ने उनले जोड दिए। सामाजिक परीक्षणकी सहजकर्ता निकिता कोइरालाले यौवनोन्मुख उमेरका बालबालिकालाई जीवनोपयोगी सीप शिक्षाले आत्मविश्वास र व्यवहारिक जीवनदर्शन दिदै अत्यन्त उपयोगी सिद्ध भइरहेको प्रतिक्रिया दिइन्।

प्रतिवेदन पारित, नयाँ कार्ययोजना तयार

कार्यकारी निर्देशक ठाकुरप्रसाद चापागाईंले २०८१/८२ को वार्षिक तथा आर्थिक प्रतिवेदन सुधारसहित अनुमोदन भएको जानकारी दिँदै आगामी वर्षका लागि नयाँ कार्ययोजना पारित गरिएको बताए। कार्यक्रममा किडाशाका वित्त नियन्त्रक वशन्तराज पराजुली, एनजीओ महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, राष्ट्रिय बालअधिकार परिषद्का बद्रीप्रसाद वाग्ले, बाल कल्याण अधिकारी बेलकुमारी गुरुङ, बालहितकारी परियोजना नेपालका उपाध्यक्ष पार्वती पाण्डे, सल्लाहकार जगतबहादुर पहारी, मानव संसाधन प्रमुख सूर्यबहादुर भण्डारी, कर्मचारी, अभिभावक, शिक्षा-चिन्तकलगायतको उपस्थिति थियो। २०५४ सालमा स्थापना भएर कास्की र लमजुङमा दिवा शिशु स्याहार केन्द्रबाट यात्रा सुरु गरेको संस्थाले स्वास्थ्य, शिक्षा र बाल संरक्षणको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: