कालिका माविमा पूर्वविद्यार्थीको उल्लेखनीय पहल, सबै कक्षामा पंखा जडानदेखि खेलकुद सामग्रीसम्म हस्तान्तरण

Share:

पोखरा। पोखरा महानगरपालिका-३३ आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई त्यहाँका पूर्वविद्यार्थीहरूले सराहनीय सहयोग गर्दै विद्यालयमा आवश्यक सामग्री हस्तान्तरण गरेका छन्। २०७५ सालमा एसइई उत्तीर्ण गरेका विद्यार्थीहरूको समूहले विद्यालयका सबै कक्षाकोठामा पंखा जडान गर्नुका साथै विद्युत् व्यवस्थापन विस्तार गरेको हो। शुक्रबार विद्यालयमा आयोजित विशेष समारोहमा सो समूहले विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनबहादुर थापा, अभिभावक-शिक्षक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा तथा प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद तथा स्टेशनरी सामग्री पनि हस्तान्तरण गर्यो।

पूर्वविद्यार्थी सुशील विक, मदन आचार्य र सुरेश गुरुङले संयुक्त रूपमा सामग्री बुझाउँदै विद्यालयप्रतिको कर्तव्यबोधले आफूहरू सहयोगमा जुटेको बताए। “हामीसँग धेरै पैसा भएर होइन, आफैँ पढेको विद्यालयप्रति जिम्मेवारी बोध गराउन यो पहल गरेका हौँ,” सुशील विकले भने। उनका अनुसार देश–विदेशमा रहेका पूर्वविद्यार्थी सञ्जय विक, सुस्मिता सुनार, प्रकाश पुन, कार्तिक बानिया, सुरेश गुरुङ, सुबोध गुरुङ, पूर्णिमा श्रेष्ठ, शिवराज चापागाईँ, प्रीति श्रेष्ठ, मन्दिप रानाभाट, पवित्रा लामा, मदन आचार्य र भुवन थापाले सहयोग जुटाएका हुन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष थापाले पूर्वविद्यार्थीहरूको सक्रियता विद्यालयका लागि प्रेरणादायी भएको भन्दै अर्को पुस्ताका विद्यार्थीहरूलाई पनि सकेको योगदान गर्न आग्रह गरे। अभिभावक-शिक्षक सङ्घका अध्यक्ष विश्वकर्माले विद्यालय पछिल्ला वर्षमा प्रगतिशील काम गर्दै गएको र त्यही यात्रामा पूर्वविद्यार्थीहरूको सहभागिता सुखद रहेको उल्लेख गरे।

सहायक प्रधानाध्यापक बालकुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक सिर्जना महतको सञ्चालनमा सम्पन्न भएको थियो। विद्यालयमा पूर्वविद्यार्थीको सक्रियता देखिएपछि विद्यालय परिवारले यसलाई दीर्घकालीन सहयोगको शुरुआतका रूपमा लिएको छ।

कमेन्ट गर्नुहोस्
Share: