
पोखरा। पोखरा महानगरपालिका बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा आधारभूत तहका विद्यार्थीहरूको आकर्षक सहभागितासहित लोकगीत प्रतियोगिता सम्पन्न भएको छ। कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरू सहभागी प्रतियोगितामा १९ टोलीले सांस्कृतिक प्रस्तुति दिएका थिए। प्रतियोगितामा भिजा बुढा मगर, आशिका घर्ती मगर र अस्मिता क्षेत्रीको समूह माछापुच्छ्रे सदन प्रथम स्थान हासिल गर्न सफल भयो।
त्यसैगरी आशुतोष आचार्य, प्रिन्सा सुर्खेती र रिदम गाहाको फेवा सदन दोस्रो, जबकि जेनिशा विक, दीपिका मगर र दिया नेपालीको धौलागिरी सदन तेस्रो घोषित भयो। अर्कातर्फ नित्यान देवकोटाले उत्कृष्ट प्रस्तुति दिँदै तृतीय स्थान बराबरी हासिल गरेका आधारभूत तह इञ्चार्ज गोविन्द शर्माले जानकारी दिएका छन्।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र इञ्चार्ज शर्मा पौडेलले उत्कृष्ट टोलीहरूलाई बधाई दिँदै विद्यालयले आयोजित कार्यक्रमले मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताए। कक्षा ३ का प्रदिश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि सिर्जना शर्मा सिग्देल तथा गोविन्द शर्मा पौडेलले प्रस्तुतिको मूल्यांकन गरेका थिए।
कार्यक्रमको सञ्चालन शिक्षक विष्णुमाया गौतमले गरेकी थिइन्। लोक धुन र बालप्रतिभाको उत्साहले भरिएको प्रतियोगिताले विद्यालयमा उत्सवमय वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन्।
