नेपाल लाइफ इन्स्योरेन्सद्वारा कास्की प्रहरीलाई ७५ सन्देश बोर्ड र ५ कम्प्युटर हस्तान्तरण

Share:

पोखरा। जीवन बीमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रबार कास्कीका प्रहरी निकायलाई महत्वपूर्ण सामाग्री हस्तान्तरण गरेको छ। कम्पनीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौडालाई ७५ थान सूचनामूलक ट्राफिक बोर्ड र जिल्ला प्रहरी कार्यालय कास्कीलाई ५ थान कम्प्युटर प्रदान गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीणरमण पराजुलीले उक्त सामाग्री राजमार्ग ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापा र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नविन कार्कीलाई हस्तान्तरण गरे। सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै पराजुलीले नेपाल लाइफले समाजप्रति कर्तव्यबोधका साथ विभिन्न सहयोग कार्यक्रमहरू गर्दै आएको बताए।

“हस्तान्तरण गरिएका कम्प्युटर र सन्देश बोर्डहरूले प्रहरी सेवाको प्रभावकारिता बढाउन योगदान पुग्नेछ भन्ने विश्वास छ,” उनले भने।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौडाका प्रमुख एसपी थापाले नेपाल लाइफले प्रदान गरेको सहयोगले ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण र सेवा प्रवाहमा उल्लेखनीय मद्दत पुग्ने बताए।

“शान्ति-सुरक्षा, अपराध नियन्त्रण र दुर्घटना न्यूनिकरण सबैको साझा जिम्मेवारी हो,” उनले भने, “यस्ता संस्थागत सहयोगले हाम्रो काम अझ प्रभावकारी बन्छ।”

कार्यक्रममा ट्राफिक प्रहरी, जिल्ला प्रहरीका प्रतिनिधि र नेपाल लाइफका अधिकारीहरूको उपस्थिति थियो। सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यो पहल प्रहरी सेवाको आधुनिकीकरण तथा जनसेवा प्रवाह सुदृढ बनाउन महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: