पोखराको बाटुलेचौरमा निःशुल्क आँखा जाँच शिविर, २०७ जना लाभान्वित, ३५ जनामा मोतियाविन्दु पहिचान

Share:

पोखरा। पोखरा महानगरपालिका-१६ बाटुलेचौरमा आयोजित निःशुल्क आँखा जाँच शिविरबाट २ सय ७ जना स्थानीयवासी लाभान्वित भएका छन्। हिमालय क्लबद्वारा आयोजना गरिएको उक्त शिविरमा परामर्श लिएका मध्ये ३५ जनामा मोतियाविन्दुको समस्या भेटिएको क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए।

शिविरमा नयाँबजारस्थित दृष्टि आँखा अस्पतालको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो। दृष्टि विशेषज्ञ डा. प्रिन्सा बास्तोला, नेत्र सहायक प्रशिद्धी शाही र स्नेहा पुरीले दिनभर सेवाग्राहीहरूको आँखा परीक्षण गरेका थिए। मोतियाविन्दु पहिचान भएका बिरामीलाई अस्पतालको सहकार्यमा थप उपचार प्रक्रिया अघि बढाइने क्लबले जनाएको छ।

शिविरको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले क्लबका मानार्थ सदस्य बेनीबहादुर बस्नेत र सल्लाहकार राजेन्द्र बहादुर देवकोटालाई औषधि हस्तान्तरण गर्दै गरेका थिए।

उद्घाटन समारोहमा मन्त्री थापाले सामाजिक संस्थाहरू जनताका प्रत्यक्ष सरोकारका क्षेत्रमा सक्रिय हुनुपर्ने बताउँदै भने, “स्वस्थ नागरिकबाट मात्र समृद्ध समाज निर्माण सम्भव छ।”

कार्यक्रममा दृष्टि आँखा अस्पतालका अध्यक्ष शिव पोखरेलले आँखा अत्यन्त संवेदनशील अंग भएकाले नियमित जाँच अनिवार्य रहेको उल्लेख गरे। शिविरको उद्देश्य र महत्वबारे क्लबका सूचना अधिकारी शिवराज देवकोटाले जानकारी गराएका थिए भने कार्यक्रम सञ्चालन सचिव तुलबहादुर बस्नेतले गरेका थिए। शिविरमा आवश्यक व्यक्तिहरूलाई निःशुल्क औषधि र सहुलियत दरमा चश्मा वितरण गरिएको क्लबले जनाएको छ।

निःशुल्क शिविरबाट लामाचौर, बाटुलेचौर, घार्मी, कुरेचौर, हरिपाउँ, अर्मला, भलाम लगायतका स्थानीय बासिन्दा लाभान्वित भएका थिए।
हिमालय क्लबले यसअघि पनि मुटु जाँच, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रीनिङसहित विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै समुदायमै स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: