
पोखरा। पोखरा महानगर-३३, आँपुभञ्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा विद्यार्थीहरूको कला, सिर्जना र क्षमता उजागर गर्ने उद्देश्यसहित आयोजित प्रतिभा प्रस्फुटन प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ । विद्यालय परिसरै रमाइलो र उत्सवमय बनाउने कार्यक्रममा विद्यार्थीहरूले गीत, कविता, अभिनयदेखि चित्रकलासम्मका आफ्नो-आफ्ना प्रतिभा दमदार शैलीमा प्रस्तुत गरेका थिए ।
यो प्रतियोगितालाई विशेष बनाउने अर्को पक्ष भनेको २०७५ सालमा एसईई उत्तीर्ण गरेका पूर्वविद्यार्थीहरूले नै विजेताका लागि पुरस्कारको प्रबन्ध गर्नु हो। उनीहरूको प्रेरणादायी सहभागिताले विद्यालय-पूर्वविद्यार्थी सम्बन्धलाई झनै आत्मीय बनाएको अभिभावक तथा शिक्षकहरूले बताएका छन्।
प्रतियोगितामा माध्यमिक तहतर्फ सागर खत्री, सफला सुनार र मन्जिता गुरुङ, आधारभूत तहतर्फ वर्षा सुनार, शिवानी गुरुङ र सुवासना श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । यस्तै आधारभूत तह (कक्षा १-३) तर्फ आशिका गुरुङ, आयुषा सुनारी मगर र प्रतीक सुनार क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
यसै गरी सोही अवसरमा भएको खुला चित्रकला प्रतियोगितामा माध्यमिक तहमा रवि खत्री र सन्ध्या परियार, आधारभूत तहमा मौसमी राजबाहक, करिस्मा केसी, आइतीमाया तामाङ, ओम तामाङ, मेग्ना राजबाहक र अलिमा ओली उत्कृष्ट भएका थिए । कक्षा ८ का रक्षक श्रेष्ठ, कक्षा २ की उषा घले र बालविकासका सिमियुन तामाङले प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिताका निर्णायकहरूमा आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी गिरी र पूर्व विद्यार्थी भुवन थापा निर्णायक रहेका थिए । विजेताहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा, विद्यालय व्यवस्थाप समितिका सदस्यद्वय खिमबहादुर खत्री र कृष्णकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
