एफसी प्रेसिडेण्ट्स कप: मनाङको शानदार सुरुवात, कम्बोडियाको सेभेरिङ ६–३ गोलले पराजित

Share:

रञ्जन अधिकारी- पोखरा, १८ वैशाख / मंगोलियामा जारी एएफसी प्रेसिडेण्ट्स कपको छनौटमा नेपालबाट प्रतिनिधित्व गरेको लिग च्याम्पियन लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले शानदार विजयी सुरुवात गरेको छ । विहिबार भएको आफ्नो पहिलो खेलमा मनाङले कम्बोडियाको सेभेरिङ फुटबल क्लबलाई ६–३ गोल अन्तरले पराजित गरेको हो ।

मनाङको जीतमा दीपक राई एक्लैले दुई गोल गरे भने सहिद अजिज, शुलभ मास्के र निराजन मल्लले एक–एक गोल गरे । मनाङलाई एक गोल आत्मघाती उपहार मिलेको थियो । पहिलो हाफमा तीन गोल गरेको मनाङले दोस्रो हाफमा तीन गोल नै थप्यो ।

एनलबटार स्टेडियममा भएको खेलमा छैटौं निेटमै दीपक राईले मनाङलाई सुरुवाती अग्रता दिलाए । उनले अनिल गुरुङले मिलाएको बललाई पोष्टको दिशा दिएका हुन् । त्यसको तीन मिनेटपछि नै मौल डाराभ्रोनबाट आत्मघाती गोल हुँदा मनाङले दुई गोलको अग्रता लियो । २३ औं मिनेटमा अजिजले बिराज महर्जनको क्रसमा गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए ।

खेलको ३६ औं मिनेटमा सोम भेष्नाले सेभेरिङ एफसीका लागि एक गोल फर्काए । दोस्रो हाफमा ५६ औं मिनेटमा नुब टोलाले गोल गर्दै खेललाई ३–२ गोल अन्तरमा झारे । ६२ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दा ७५ औं मिनेटमा शुलभले टोलीका लागि पाँचौ गोल गरे । ८१ औं मिनेटमा निराजन मल्लले छैटौं गोल गर्दा दुई मिनेट पछि नै सेभेरिङका नुब टोलाले तेस्रो गोल फर्काएपनि जीतका लागि पर्याप्त बनेन ।

यो जीतसँगै मनाङको फाईनल चरण जाने सम्भावना बलियो भएको छ । समूह सीमा नेपालको मनाङ र कम्बोडियाको सेभेरिङसँगै मंगोलियाको ईर्चिम क्लब पनि छ । मनाङले अब सोमबार इर्चिम एफसीको सामना गर्नेछ । दोस्रो पटक प्रेसिडेन्ट कपको समूह चरण खेलेको मनाङ सन् २००६ मा मलेसियामा भएको प्रतियोगितामा तीन मध्ये दुई खेलमा हार व्यहोर्दै समूहचरणबाटै बाहिरिएको थियो । समूहका तीन मध्ये दुई टिम फाईनल पुग्ने भएकाले मनाङले यसपटक भने पहिलो पटक फाईनल चरणमा यात्रा बनाउँदै एएफसी कप खेल्ने पहिलो नेपाली क्लबको ईतिहास रच्ने दाउमा छ ।

प्रेसिडेन्ट कपको फाईनल चरण पुग्ने ६ क्लब उपाधि होडमा उभिनेछन् र सन् २०१५ को एएफसी कपको प्लेअफ पनि खेल्न पाउनेछन् । एएफसी प्रेसिडेण्ट्स कपको यो दशौं तथा अन्तिम संस्करण हो । एन्फाको अनुशासन कारबाहीबाट एक वर्षका लागि कुनै पनि फुटबल खेल्न नपाउने गरी वञ्चित भएका भेट्रान खेलाडी नविन न्यौपाने टिमका प्रशिक्षकका रुपमा रहेका छन् ।

घरेलु प्रतियोगितामा व्यस्त भएर दुई साताको प्रशिक्षणपछि मगोलिया पुगेपनि मनाङलाई राष्ट्रिय टिमका ५ खेलाडीको साथले फाइदा भएको प्रशिक्षक नवीन न्यौपाने बताउँछन् । कप्तान थापा, सहिद अजिज र विक्रम लिम्बूको रक्षापंक्तिमा पछिल्लो पटक जोडिएका छन्, पिटर सेगुन, विराज महर्जन र दीपक भुसाल । मिडफिल्डमा सुजल श्रेष्ठ, सुलभ मास्के, शिव श्रेष्ठ, रूपेश केसी र विशाल राई एवं फरवार्डमा अनिल गुरुङ, नीराजन मल्ल र दीपक राईको जिम्मेवारी छ । सागर, अनिल र विराजले प्रेसिडेन्ट्स कप खेल्न लागेको तेस्रो अवसर हो । बाँकी १४ खेलाडी पहिलोपल्ट महादेशीय प्रतियोगिता खेल्दै छन् ।

कमेन्ट गर्नुहोस्
Share: