
पोखरा। रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा जारी ‘कास्की आइडल’ प्रतियोगिताको टप–टेन छनोट चरण आकर्षक ढंगले सम्पन्न भएको छ। गायन र नृत्य दुवै विधामा सहभागी प्रतिभाहरूले दमदार प्रस्तुतिसहित निर्णायक र दर्शकलाई मोहित पारे। सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, सन्तोष विके, सुरज परियार र दीपक सुनार टप-टेन मा स्थान बनाउन सफल रहे।
कृपा विके, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना मगर टप-टेन मा परेका छन्। कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा संयोजक आदर्श पोखरेल को अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रमुख अतिथि तथा रूपा गाउँपालिका-२ का वडाअध्यक्ष राजन सुवेदीले कास्की आइडलले वास्तविक आइडल जन्माउने विश्वास व्यक्त गर्दै स्थानीय तहले कला, साहित्य र संगीतमा लगानी बढाउनुपर्ने धारणा राखे। स्वयं गायकसमेत रहेका सुवेदीले उदाउँदो प्रतिभाहरूका लागि प्रतियोगिता महत्त्वपूर्ण प्लेटफर्म भएको बताए।
यसै अवसरमा निराजन कोइराला, सुदिप ढुङ्गाना, सुवास खड्का तथा कराते प्रशिक्षक विनोद नेगीलगायतले शुभकामना व्यक्त गरे। कार्यक्रमका अजीवन सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य र स्थानीय प्रतिभा पहिचानमा यसको प्रभावबारे प्रकाश पारे।
सनम गुरुङले प्रस्तुत गरेको स्वागत गीतले माहोल झनै रमाइलो बनाएको थियो भने कार्यक्रमको सफल सञ्चालन ज्योति खड्काले गरेकी थिइन्।
कास्कीको कला-साहित्य र सांगीतिक प्रतिभा उजागर गर्ने यो प्रतियोगिता अन्तिम चरणतर्फ अघि बढ्दै जाँदा अझ रोचक बन्दै गएको आयोजकले जनाएको छ।


