लैङ्गिक हिंसा अन्त्यका लागि राज्य-समाजको सामूहिक प्रतिवद्धता अपरिहार्य छ : मन्त्री थापा

Share:

पोखरा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान-२०२५ अन्तर्गत पोखरामा आयोजित प्रभातफेरीमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न राज्यदेखि समाजसम्मको सामूहिक प्रतिबद्धता अपरिहार्य भएको बताएका छन्। अन्तर्राष्ट्रिय नारा “UNITE! Invest to Prevent Violence Against Women & Girls” तथा राष्ट्रिय नारा “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” सहित मनाइएको कार्यक्रममा मन्त्री थापाले दशकौँको राजनीतिक संघर्ष र आन्दोलनको जगमा महिलाका अधिकार तथा सशक्तीकरणमा भएको प्रगतिलाई ऐतिहासिक उपलब्धि भने।

मन्त्री थापाले तीनै तहका सरकार तथा नीति-निर्माण तहमा महिलाको बढ्दो उपस्थिति नेपालका लागि मात्र होइन, विश्वकै लागि प्रेरणादायी उदाहरण भएको बताए। समानता, समावेशिता र सहभागितामूलक शासन प्रणालीलाई संविधानले सुनिश्चित गरे पनि बोक्सी प्रथा, छाउपडी, दाइजो, तिलक, छुवाछुत जस्ता कुसंस्कार अझै अन्त्य हुन नसकिएको बताउँदै उनले सामाजिक अन्धविश्वासकै कारण धेरै महिलाहरू हिंसा र विभेदमा फसिरहेको बताए। “हिंसा अन्त्यका लागि परिवार र समुदायमै चेतना अभियान निरन्तर चल्नुपर्छ,” उनलेभने।

डिजिटल माध्यमबाट भइरहेको दुव्र्यवहार तथा अनलाइन हिंसाप्रति चिन्ता व्यक्त गर्दै मन्त्री थापाले प्रविधिको सुरक्षित, सजग र सकारात्मक प्रयोग अनिवार्य भएको उल्लेख गरे।

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर र अवसरयुक्त बनाउने नीति तथा वातावरण सिर्जना गर्न सके हिंसा नियन्त्रण सम्भव हुने बताइन्। “राज्य, नागरिक समाज, संघ-संस्था र महिला अधिकारकर्मीबीचको सहकार्य नै दिगो समाधान हो,” उनले भनिन्।

मानव अधिकार आयोग गण्डकीकी प्रमुख नितु पौडेलले अभियानले सबै पक्षलाई नयाँ ऊर्जा र प्रेरणा दिएको बताउँदै महिलामाथि हुने सबै प्रकारका हिंसा, उत्पीडन र कुसंस्कार अन्त्य गरी समानतामूलक समाज निर्माण गर्न सबैलाई आह्वान गरिन्।

गण्डकी प्रदेश प्रहरी प्रमुख, डिआइजी दिनेश कुमार आचार्यले लैङ्गिक हिंसामुक्त समाज निर्माण केवल साझा जिम्मेवारी मात्र नभई भविष्यका पुस्ताप्रतिको दायित्व पनि भएको बताउँदै प्रहरी समाजसँग मिलेर हिंसा नियन्त्रणमा सक्रिय रहेको जानकारी दिए।

गण्डकी प्रेस रजिस्ट्रार विमला भण्डारीले समाज परिवर्तनका लागि सकारात्मक सोच अत्यावश्यक हुने बताइन्। उनले प्रविधिको सही प्रयोगमार्फत सकारात्मक सन्देश फैलाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा विभिन्न सरकारी निकाय, सामाजिक संघ-संस्था, नागरिक समाजका प्रतिनिधि, पत्रकार, महिला अधिकारकर्मी र सरोकारवाला निकायहरूको उत्कृष्ट सहभागिता रह्यो।

गैसस महासंघ गण्डकीका अध्यक्ष पदमराज पहारी, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, तथा मन्त्रालयका महाशाखा प्रमुख प्रकाश देवकोटालगायतले पनि लैङ्गिक हिंसा विरुद्ध सशक्त धारणा राखे।

कमेन्ट गर्नुहोस्
Share: