
पोखरा । गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित ३ महिनाको (३९) कार्यघण्टा बराबरको व्यापक सीपमूलक तालिम कार्यक्रममा आज औपचारिक सुरुवात गरिएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै युवालाई सीपबाट रोजगारी, उद्यम विस्तार र आत्मविश्वास दिलाउने यो पहल ‘ऐतिहासिक माइलफलक’ बन्ने विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, “सीप सिकेर सानो हुँदैन, सम्मानसाथ सिक्न आवश्यक छ। श्रमको सम्मान गर्दै नेपालमै बसेर उद्यमी बन्न सबैलाई आग्रह गर्दछु।” उनका अनुसार तालिमपछि आफ्नै व्यवसाय सुरु गर्न चाहने युवालाई सीड मनी का लागि प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ । बैंकसँग सहकार्यमार्फत ५० प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत लगानीकर्ताबाट उद्यम स्थापना गर्न सकिने तथा प्रशिक्षार्थीको अवस्थाको निरन्तर अनुगमन गरिने उनले स्पष्ट पारे ।
गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका प्रमुख डा। सोमनाथ सापकोटाले सीप र व्यवसायिक शिक्षाको महत्व बढ्दो क्रममा रहेको उल्लेख गर्दै भने, “सीप विकासको तालिम ब्रान्ड बन्दै गएको छ । सरकारले गरेको लगानी सदुपयोग गर्न प्रशिक्षार्थीहरू जिम्मेवार हुनुपर्छ।”
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कास्कीका प्रमुख अनिल सुवेदीका अनुसार १३ विभिन्न शीर्षकमा तालिम सञ्चालन हुने छ । प्राप्त १ हजार ३ सय ५५ आवेदनमध्ये २ सय ९९ युवालाई छनोट गरिएको छ । प्रशिक्षार्थीले दैनिक ७५ रुपैयाँ खाजा खर्च पाउने र तालिम दैनिक ५ घण्टा सञ्चालन हुने जानकारी उनले दिए ।
यसपटक सञ्चालनमा रहेका तालिमहरूमा कुक, कपाल काट्ने (सैलुन), आधारभूत केश-शृंगार (ब्युटी पार्लर), विद्युत जडान, प्लम्बिङ, मोबाइल मर्मत, आधारभूत कम्प्युटर, कटाइ-सिलाइ, बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल, मन्टेस्वरी शिक्षा लगायतका सीप कार्यक्रममा प्रशिक्षार्थी, स्थानीय प्रतिनिधि, विभिन्न संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको तालिम केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारले युवाको क्षमता विकास, रोजगारी सृजना र उद्यमशीलता प्रवर्द्धनलाई आगामी दिनमा अझ सशक्त र परिणाममुखी बनाउने प्रतिबद्धता जाहेर गरेको छ ।

