लिटल फ्लावर स्कूलमा स्पोर्ट्स मिट सुरु, खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीन विकासमा जोड

Share:

पोखरा । पोखरा महानगरपालिका-२७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल सेकन्डरी स्कुलमा वार्षिक कार्यक्रमअन्तर्गत स्पोर्ट्स मिट-२०८२ बुधबारदेखि सुरु भएको छ । रंगारंग कार्यक्रमसहित बेलुन उडाएर वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले खेलकुद उत्सवको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष गुरुङ्गले लिटल फ्लावर स्कूलले शिक्षा–चेतनासँगै समाजमा देखिने विकृति र विसंगतिविरुद्ध अग्रसर भूमिका खेल्दै आएको प्रशंसा गरे ।

उनले भने, “पढाइसँगै खेलकुदले विद्यार्थीलाई नेतृत्व, अनुशासन र आत्मविश्वास प्रदान गर्छ । विद्यालयले यो अभियानलाई प्राथमिकतामा राख्नु सराहनीय छ।” रिठेपानी क्षेत्रका गुरुङ्ग समुदाय तथा भूतपूर्व सैनिकको बाहुल्य रहेको बस्तीमा ३० वर्षअघि स्थापित विद्यालयले समाज परिवर्तनमा पुर्‍याएको योगदानबारे उनी विशिष्ट भावनासाथ बोले ।

विद्यालयका संस्थापक द्धय देवी खड्का र कमल खड्कातर्फ उनले विशेष आभार व्यक्त गरे । कार्यक्रममा एन-प्याब्सनका केन्द्रीय सह-कोषाध्यक्ष शिवदत्त तिवारीले शुभकामना व्यक्त गर्दै विद्यार्थीलाई खेलमा उत्कृष्टता हासिल गर्न प्रेरित गरे । विद्यालयका प्रिन्सिपल बिकल पौडेलले खेलकुद हार-जितको लागि मात्र नभई विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासका लागि अनिवार्य भएको उल्लेख गर्दै विद्यालयले विभिन्न खेल अभियानोंलाई निरन्तरता दिँदै आएको बताए ।

कक्षा ११-१२ संयोजक विष्णुहरि पौडेलले स्वागत मन्तव्य राखेर कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे । कार्यक्रममा वडा सदस्य जितेन्द्र क्षत्री, विद्यालय सञ्चालक समिति अध्यक्ष देवी प्रधान खड्का, राइजिङ स्टार युवा क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङ्ग, प्रगतिचोक आमा समाजकी अध्यक्ष देवी गुरुङ्ग, विद्यार्थी सुदिक्षा पौडेल लगायतका अतिथिहरुले शुभकामना व्यक्त गरे । अतिरिक्त क्रियाकलाप संयोजक ध्रुव सुवेदीका अनुसार दौड, रिले, भलिबल, फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायतका खेलहरू सिनियर र जुनियर दुवै समूहमा प्रतिस्पर्धात्मक रूपमा खेलाइने छन् ।

कार्यक्रम एकेडेमिक डिन विचित्र न्यौपानेको सञ्चालन र विसिएस अध्यक्ष तिलकसिंह गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो । विव्यस सल्लाहकार क्या इन्द्रबहादुर गुरुङ्ग र क्या गणेशप्रसाद गुरुङ्गले विद्यार्थीले प्रस्तुत गरेको आकर्षक मार्चपासको मूल्यांकन गरे । स्पोर्ट्स मिटको शुभारम्भमा विद्यार्थीहरूले म्युजिकल पीटी तथा मनमोहक सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाई झन् रंगिन बनाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: