
पोखरा । सामाजिक सेवामा सक्रिय लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले आफ्नो जन्मोत्सव यस वर्ष पनि खाद्यान्न तथा फलफुल वितरण गर्दै मनाएका छन्। विगत ९ वर्षदेखि जन्मदिनलाई परोपकारी सेवासँग जोड्दै आएका गुरुङले शुक्रबार पोखरा वृद्धाआश्रम तथा मानवसेवा आश्रम छोरेपाटन शाखामा सहायता सामग्री वितरण गरेका हुन्।
गुरुङका अनुसार जन्मोत्सवमा फजुल खर्च गर्नु भन्दा समाजका आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग गर्नु नै आफ्नो लक्ष्य हो। “विगत ८/९ वर्षदेखि मैले यस्तै गरी जन्मदिन मनाउँदै आएको छु,” उनले भने, “यो सहयोग मात्रै होइन, बाहिर हुने अनावश्यक खर्च सामाजिक कार्यमा लगाउनुपर्छ भन्ने सन्देश पनि हो।”
पोखरा वृद्धाआश्रममा ४० जना र मानवसेवा आश्रम छोरेपाटनमा ९४ जना आश्रित छन्, जसका लागि गुरुङले खाद्यान्न तथा फलफुलको व्यवस्थापन गरे। यसबाहेक, गुरुङले विगत ४ वर्षदेखि पोखरा महानगर-१४ का मृगौला पीडित नरबहादुर तामाङ र शारीरिक अपाङ्गता भएकी विमला तामाङलाई पनि जन्मदिनकै अवसरमा खाद्यान्न तथा आर्थिक सहयोग गर्दै आएका छन्।
नरबहादुर तामाङ हप्तामा दुईपटक डायलाइसिस गराइरहेका छन् भने विमला तामाङ शारीरिक अपाङ्गता लिएर संघर्ष गरिरहेकी छन्।सामाजिक तथा खेलकुद विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएका संस्थापक गुरुङले जन्मदिनलाई परोपकारको उत्सव बनाउँदै निरन्तर सामाजिक प्रेरणा दिइरहेका छन्।
