हङकङका बहुतले भवनमा भीषण आगलागी हुँदा १२८ जनाको ज्यान गयो, कसरी भयो ८ दशकयताकै भीषण आगलागी ?

Share:

काठमाडौ । हङकङका बहुतले भवनमा लागेको भीषण आगोले अहिलेसम्म १२८ जनाको ज्यान लिएको छ । यो लगभग आठ दशकमा हङकङमा भएको सबैभन्दा भीषण आगलागी हो । आगो ताइ पो स्थित वांग फुक कोर्ट आवासीय परिसरमा लागेको थियो । बुधबार लागेको आगोले बाँसको मचान (स्काफोल्डिङ) भएका ३२ तल्ला अग्ला आठवटा भवनहरूलाई आफ्नो चपेटमा लिएको थियो । बीबीसीका अनुसार ती भवनहरूको बाहिर मर्मतका लागि बाँसको मचान लगाइएको थियो ।

भवनहरूको मलबाबाट थप शव भेटिएपछि मृतकको सङ्ख्या बढेको छ । बुधबार लागेको आगो अत्यन्त तीव्र गतिमा फैलिएको थियो र यो सन् १९४८ पछिको हङकङको सबैभन्दा भीषण आगलागी हो । यस अघि सन् १९४८ मा एक गोदाममा लागेको आगोमा १७६ जनाको मृत्यु भएको थियो । प्रहरीले प्रेस्टिज कन्स्ट्रक्सनका तीन अधिकारी, दुई निर्देशक र एक इन्जिनियरिङ सल्लाहकारलाई हत्या (म्यानस्लटर) को शंकमा गिरफ्तार गरेको छ । यो कम्पनीले गत एक वर्षभन्दा बढी समयदेखि त्यो आवासीय परिसरमा मर्मतको काम गरिरहेको थियो ।

प्रहरीले झ्यालहरूलाई अवरुद्ध गर्ने ज्वलनशील फोम बोर्डहरू र बाहिरी पर्खालहरूमा रहेको ज्वनशील सामग्रीले आगोलाई मिनेटभित्रमै माथि र अन्य टावरहरूमा फैलिन दिएको भनेको छ । प्रहरी अधीक्षक एलिन चुङले भनिन्, “हामीलाई विश्वास छ निर्णयकर्ताहरूले ठूलो लापरबाही देखाए ।” कम्पनीको कार्यालयबाट कागजातहरू, कम्प्युटर र फोन जफत गरिएको छ । बचाव कार्य अब सीमित हुँदै गएको छ ।

अझै शव खोजी

आपतकालीन टोलीहरू शुक्रबारसम्म पनि जलेका भवनहरूमा खोजीको प्रयासमा थिए । अपार्टमेन्टहरूका ढोकाहरू भाँचेर भित्र पसिरहेका थिए र सहयोगको कलहरूको जवाफ दिने प्रयास गरिरहेका थिए । कम्तीमा २५ वटा कलहरू अझै पनि नसुनिएका छन् । एक सामुदायिक केन्द्रबाहिर परिवारका सदस्यहरू पर्खँदै थिए, जहाँ अधिकारीहरूले उनीहरूलाई जलेका भवनभित्र लिइएका तस्बिरहरू देखाइरहेका थिए ताकि उनीहरूले आफ्ना आफन्तहरूको पहिचान गर्न सकुन् । आफ्ना हराएका बुबाको खोजी गरिरहेकी मिर्रा वोङवोङले उनलाई सबैभन्दा नराम्रो परिणामको डर लागेको रोयटर्सलाई बताइन् । आफ्नो साथीकी श्रीमतीको खोजी गरिरहेका अर्को बासिन्दाले भने, “सत्य भन्दा, अब कुनै आशा बाँकी छैन, तर शव भेट्टाउनु अझै पनि धेरै जरुरी छ ।”

हराएका मानिसहरूको सङ्ख्या लगातार बढिरहेको छ । बिहीबार बिहान २७९ जना हराएको खबर थियो तर प्रशासनले अहिलेसम्म नयाँ आँकडा जारी गरेको छैन । एक फिलिपिनो सहायता समूहले १९ जना फिलिपिनो कामदार अझै पनि हराएका बताएको छ । इन्डोनेसियाई वाणिज्य दूतावासले दुई जना इन्डोनेसियाई नागरिक मृतकहरूमा परेका पुष्टि गरेको छ । हङकङमा ३ लाख ६८ हजारभन्दा बढी घरेलू कामदार बसोबास गर्छन्, जस्मध्ये धेरैजसा निम्न-आय भएका एसियाली देशहरूबाट आउँछन् र जहाँ उनीहरू काम गर्छन्, त्यहीँ बस्छन् ।

यस विनाशकारी दुर्घटनाले हङकङमा बाँसको मचानमा भर पर्ने प्रथामाथि फेरि बहस छाडेको छ । यो एक प्राचीन प्रविधि हो जुन व्यापक रूपमा प्रयोग हुँदै आएको छ । अधिकारीहरूले आगो एक टावरको बाहिरी बाँसको मचानबाट सुरु भएको भनेका छन् । र, तीव्र हावाको सहयोगले भित्र र छवटा अन्य ब्लकहरूमा फैलिएको थियो ।

विकास ब्युरोले यस वर्षको सुरुमा धातुको मचान प्रयोग गर्न विचार गरिएको बताएको थियो । बाँस हल्का, सस्तो र भीडभाड भएका ठाउँहरूमा लगाउन सजिलो हुन्छ, तर यो ज्वलनशील पनि हो । विज्ञहरूका अनुसार, धातुको मचान महँगो निर्माणमा ढिलो हुन सक्छ । तर, अग्ला र जोखिमपूर्ण भवनहरूको लागि धेरै बढी सुरक्षित छ ।

हङकङका नेता जोन लीले सरकारले ३०० मिलियन हङकङ डलर (लगभग ३९ मिलियन अमेरिकी डलर) को राहत कोष स्थापना गर्ने बताएका छन्, ताकि परिवारहरूलाई र बचेकाहरूलाई सहायता पुर्‍याउन सकियोस् ।

चीनका धेरै ठूला कम्पनीहरूले पनि दान दिने बाचा गरेका छन् । अधिकारीहरूले अहिलेसम्म आगोको सही केन्द्र वा कारणको पुष्टि गरेका छैनन् । तर, अनुसन्धानकर्ताहरूको भनाइ मा ज्वलनशील बाह्य सामग्री, प्लास्टिकको झ्याल आवरण र बाँसको मचानका कारण आगो फैलिने अवस्था सिर्जना गरेको थियो ।

ग्रीनबर्ग इन्जिनियरिङका देवांश गुलाटीले भने, “यो यस्तो त्रासदी हो जसले धेरै पाठहरू छाड्छ । यसले गलत परिस्थितिहरू सँगै आएमा कति चाँडो विनाश हुन सक्छ भन्ने देखाउँछ ।”

कमेन्ट गर्नुहोस्
Share: