
पोखरा । जेनजी आन्दोलनका क्रममा आगजनी भएर ध्वस्त बनेको पोखरा महानगरपालिका-१३ वडा कार्यालय स्थानीयवासीको अद्भुत सक्रियतामा ६६ दिनमै नयाँ रूप लिएर ठडिएको छ। भदौ २४ मा अपरिचित समूहले जलाइदिएको भवनलाई वडावासीले “हाम्रै सम्पत्ति” मानेर पुनर्निर्माणमा हात हाले, र शनिबार एक विशेष कार्यक्रमका बीच स्थानीयद्वारा बनेको नयाँ भवन औपचारिक रूपमा वडालाई हस्तान्तरण गरिएको छ।
निर्माण समिति संयोजक खुसीमान गुरुङका अनुसार भवन निर्माणमा २७ लाख ५८ हजार रुपैयाँ खर्च भयो। तर चन्दा भने अपेक्षाभन्दा धेरै संकलन भयो-जम्मा २८ लाख ९६ हजार रुपैयाँ। रकम नै धेरै बटुलिएपछि कात्तिक १९ देखि चन्दा अभियान बन्द गर्नुपरेको गुरुङले बताए।“सहयोग गर्न खोजेर आउनेलाई पनि फर्काउनुपर्यो,” गुरुङको अनुभव उत्साहजनक छ। नयाँ भवन पुरानाभन्दा अझै सुन्दर, सुविधायुक्त र आधुनिक बनेको वडाले जनाएको छ।
४४ टोल विकास संस्थाको ऐतिहासिक योगदान
वडाभित्रका ४४ टोल विकास संस्थाबाट मात्र १२ लाख २३ हजार ५३९ रुपैयाँ उठ्यो। जनप्रतिनिधिहरूबाट ६० हजार २११ रुपैयाँ, विभिन्न क्लब-सहकारीबाट ३ लाख ५२ हजार १८१ रुपैयाँ, र व्यक्तिगत रूपमा ५१ दाताबाट ५ लाख ७९ हजार ४०५ रुपैयाँ प्राप्त भयो।
त्यस्तै, २१ शैक्षिक तथा व्यावसायिक संस्थाले ६ लाख ६० हजार ७७१ रुपैयाँ बराबरका जिन्सी सामग्री उपलब्ध गराए। जलेका पुराना सामग्री बिक्री, बैंक ब्याज र छुट रकम जोड्दा थप आम्दानी पनि भयो। विदेशमा रहेका वडावासीले समेत खोजी-खोजी सहयोग पठाएका थिए,यो पुनर्निर्माणलाई अझै बलियो आधार मिल्यो।
कोषाध्यक्ष केदारराज सिग्देलका अनुसार सरकारी भवन जलेपछि जनताले त्यसलाई आफ्नै सम्पत्ति ठानेर उठाए,यसले सरकारलाई जनताले आवश्यक पर्दा साथ दिन्छन् भन्ने स्पष्ट प्रमाणित गर्छ।
वडाध्यक्ष किरण बरालले भने, “सरकारप्रति रुष्ट भएर आन्दोलन भयो, तर सरकारी भवन जनताले नै बनाए। यही नै वास्तविक सकारात्मक राजनीतिक चेतना हो।” अब नयाँ भवनबाट सेवा नियमित रूपमा सुरु हुनेछ। सिसिटिभी क्यामेरा जडानको काम आइतबारसम्म सकिने बताइएको छ।
२५ वडामा तोडफोड, तर १३ नम्बर वडाको उदाहरण देशभर चर्चित
जेनजी आन्दोलनका क्रममा पोखराका ३३ वडामध्ये २५ वडामा तोडफोड र आगजनी भएको थियो। धेरै वडाले अझै मर्मत थाल्न सकेका छैनन्। तर वडा १३ ले जनशक्ति, जनसहयोग र जनविश्वासको जगमा उठेको भवनमार्फत देशमै एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।हस्तान्तरण कार्यक्रममा सहयोगदातालाई खादा लगाएर सम्मान गरिएको छ । जनताको हातले बनेको भवन, जनताकै सम्मानसँगै सुरु भएको छ।
