
पोखरा। आगामी पुस ३ गतेदेखि १४ गतेसम्म आयोजना गर्न लागिएको २१ औँ लेखनाथ महोत्सव सफल बनाउन जिल्लाका सबै सुरक्षा निकायले एकसुरमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा आयोजित विशेष सुरक्षा समन्वय छलफलले महोत्सवलाई अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सर्वस्तरीय तयारी सुरु भएको संकेत दिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख रुद्ध्रादेवी शर्माले लेखनाथ महोत्सवले ‘महोत्सवको पनि महोत्सव’को पहिचान बनाइसकेको उल्लेख गर्दै यस वर्ष अझ उत्कृष्ट र सुरक्षित महोत्सव बनाउन प्रशासन पूर्ण रूपमा प्रतिवद्ध रहने बताइन्। उनले प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गरेर महोत्सवलाई भरपर्दो र सफल बनाइने स्पष्ट गरिन्।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक नविन कार्कीले सुरक्षामा समन्वय सबैभन्दा महत्वपूर्ण हुने बताउँदै, संवेदनशील सूचनाको आदान–प्रदान, स्वयंसेवक परिचालन, सिसिटिभी र पार्किङ व्यवस्थापन, मदिराजन्य पदार्थको नियन्त्रण लगायत विषयमा आयोजकले विशेष ध्यान दिनुपर्ने सुझाव दिए।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक दानबहादुर थापाले २१ औँ संस्करणसम्म आइपुग्दा लेखनाथ महोत्सवले उत्कृष्ट सफलता हासिल गरिसकेको बताए। अब गुणस्तरीय सुधार र दर्शक–अतिथि व्यवस्थापनमा अझ ध्यान दिनुपर्नेमा उनले जोड दिए।
छलफलमा स्वागत मन्तव्य दिँदै संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले आर्थिक मन्दी र चुनौतीपूर्ण परिस्थितिमा व्यवसायीको मनोबल उठाउन तथा आर्थिक गतिविधि चलायमान बनाउन महोत्सव आवश्यक रहेको बताइन्। सुरक्षा निकायको निरन्तर साथसहयोगका लागि उनले आभार व्यक्त गरिन्।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकाल, सशस्त्र प्रहरी बल कालिका गणका प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमल्सेना, राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उप–अनुसन्धान निर्देशक मोहन बहादुर कुँवर, संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्वअध्यक्षहरू तथा विभिन्न उपसमितिका संयोजकहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रम महासचिव भरतराज ओझाले सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए।
