चितवनलाई हराएसँगै सुदूरपश्चिमको शीर्ष स्थान सुनिश्चित, विराटनगर पनि प्लेअफमा

Share:

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राख्दै सानदार शैलीमा पहिलो ‘क्वालिफायर’ मा स्थान सुरक्षित गरेको छ। बिहीबार साँझ सम्पन्न खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिमले लिग चरणका ६ वटै खेलमा जित हासिल गरेको हो। यो जितसँगै १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहँदै सुदूरपश्चिमले उपाधि नजिकको यात्रा तय गरेको छ।

सुदूरपश्चिमको यो जितले सन्दीप लामिछाने कप्तानीको विराटनगर किंग्सलाई ठूलो फाइदा पुगेको छ। चितवन पराजित भएपछि ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगरको प्लेअफमा स्थान पक्का भएको हो। यसअघि नै काठमाडौँ गोर्खाजले बिहीबार दिउँसो पोखरालाई हराउँदै अन्तिम चारमा स्थान बनाइसकेको छ।

सुदूरपश्चिमसँगको हारले चितवन राइनोजको प्लेअफ यात्रा भने निकै कठिन मोडमा पुगेको छ। ६ खेलमा ४ हार ब्यहोरेको चितवनको खातामा मात्र ४ अंक छ। अब अन्तिम खेल जितेर मात्र चितवनलाई पुग्दैन, अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ।
अब प्लेअफको अन्तिम एक सिटका लागि चार टोली लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्टस् र चितवन राइनोजबीच रस्साकस्सी हुनेछ।

शुक्रबार हुने खेल निर्णायक बन्न सक्छ। यदि शुक्रबार जनकपुर बोल्टस् विरुद्धको खेलमा लुम्बिनी लायन्स विजयी भएमा लुम्बिनी ८ अंकसहित सोझै प्लेअफमा पुग्नेछ भने बाँकी तीन टोली बाहिरिनेछन्। तर, जनकपुरले बाजी मारेमा भने समीकरण थप रोचक बन्नेछ। कर्णाली याक्स भने यसअघि नै दौडबाट बाहिरिसकेको छ।

क्रिस लिनको आक्रामक ब्याटिङ, चितवन निरिह

बिहीबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रनको बलियो योगफल खडा गरेको थियो। सुदूरपश्चिमका लागि अष्ट्रेलियाली ब्याटर क्रिस लिनले विष्फोटक ब्याटिङ गर्दै ५६ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४(२४ रनको योगदान दिँदा विनोद भण्डारीले २१ रन जोडे।

१७० रनको लक्ष्य पछ्याएको चितवन राइनोजको ब्याटिङ लाइनअप धराशायी बन्यो। चितवन २० ओभर नखेल्दै १२० रनमा अलआउट भयो। चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ र देव खनालले २८ रन बनाए पनि हार टार्न सकेनन्।

सुदूरपश्चिमको कसिलो बलिङमा पुनित मेहराले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले एक-एक विकेट हात पारे।

कमेन्ट गर्नुहोस्
Share: