हेमजामा जुट्यो साहित्यिक जमघट, देशभरका १०० बढी स्रष्टा एउटै मञ्चमा

Share:

पोखरा। पोखराको हेमजामा पहिलो पटक आयोजना हुन लागेको ऐतिहासिक ‘प्रथम हेमजा साहित्य महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार (भोलि) र शनिबार (पर्सि)हेमजास्थित ज्ञानसागर एकेडेमीमा हुने यो महोत्सवले हेमजालाई दुई दिनसम्म साहित्यिक तीर्थस्थलको रुपमा बदल्नेछ ।

मुल आयोजक समितिका अध्यक्ष शंकरमणि त्रिपाठी ‘छन्दमणि’ का अनुसार यो विशुद्ध मौलिक साहित्य महोत्सव हो । महोत्सवको विशेष आकर्षणको रूपमा कास्की जिल्ला बाहिरबाट मात्रै १०० भन्दा बढी साहित्यकारहरू सहभागी हुँदैछन् ।

देशभरका चर्चित कवि, लेखक र कलाकारहरू एउटै मञ्चमा उत्रिने भएकाले यसलाई साहित्यप्रेमीहरूका लागि विशेष अवसर मानिएको छ ।
अध्यक्ष त्रिपाठीले भने, ‘हामीले मौलिक पहिचानको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य राखेका छौं । साहित्यको असली स्वाद लिन र दिग्गज स्रष्टाहरूलाई सुन्न यो महोत्सव नछुटाउनुहोला भन्ने हाम्रो आग्रह छ ।’

महासचिव शिव त्रिपाठीका अनुसार महोत्सवको पहिलो दिन भोली विचार र सिर्जनामा केन्द्रित हुनेछ । सिर्जना वाचनमा कविता, गीत, गजल, मुक्तक र लघुकथा वाचन हुनेछ । यस्तै, बौद्धिक बहसमा नाटक तथा रंगमञ्च, महाकाव्य लेखन र आख्यान लेखन सम्बन्धी गहन परिसंवाद, अन्य पुस्तक विमोचन र स्थानीय कला-संस्कृतिको प्रदर्शनी हुनेछ ।

महोत्सवको मुख्य आकर्षण र सर्वाधिक महत्वको कार्यक्रम दोस्रो दिन पोर्सि हुनेछ । साहित्य, संस्कृति र काव्यिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका वरिष्ठ व्यक्तित्व कविवर मुकुन्दशरण उपाध्यायलाई भव्य रूपमा रथारोहणसहित अभिनन्दन गरिनेछ ।

महासचिव त्रिपाठीका अनुसार रथारोहण कार्यक्रममा कविवर उपाध्यायको साहित्यिक यात्रा झल्किने सांस्कृतिक झाँकी र विविध प्रस्तुतिहरू रहनेछन् । स्थानीय समुदाय, विद्यालय र साहित्यिक संस्थाहरूको व्यापक सहयोगमा हुन लागेको यो महोत्सव नेपालको साहित्यिक इतिहासमा एक महत्वपूर्ण कोसेढुंगा साबित हुने विश्वास आयोजकले लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: