ध्वनी प्रदुषण गर्नेविरुद्ध कास्की प्रहरी आक्रामक, प्रहरीसँग निहुँ खोज्ने ४ जना पक्राउ

Share:

पोखरा। मोटरसाइकलको स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने र चेकजाँचमा खटिएका प्रहरीसँग बादबिबाद गर्ने चार जनालाई कास्की प्रहरीले पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको छ। वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखराका विभिन्न स्थानबाट मनिष केसी, कृष्ण मल्ल, मनोज नेपाली र विशेष पुर्जालाई पक्राउ गरेको हो।

उनीहरुले समाजलाई आतंकित पार्ने गरी सवारी चलाएको र ड्युटीमा रहेका प्रहरीसँग विवाद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।

प्रहरीले पछिल्लो समय साइलेन्सरबाट आगोको झिल्का निकाल्ने, डरलाग्दो आवाज निकाल्ने र तीव्र गतिमा हुइँकिएर समाजमा अशान्ति फैलाउने समूहमाथि निगरानी बढाएको छ। प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न सर्वसाधारणको सहयोग मागेको छ।

आफ्नो टोल छिमेकमा यस्ता गतिविधि भएमा १०३ वा १०० मा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ। हाल कास्कीमा अपरेशन ३६५ अभियान चलिरहेको छ, जसअन्तर्गत १८९ वटा सवारी साधन कारबाहीमा परिसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: