डायमण्ड माविको वार्षिक खेलकुद उत्सव सम्पन्न, १ लाख बराबरको पुरस्कार वितरण

Share:

पोखरा। पोखरा-२७ ताल्चोकस्थित डायमण्ड माविले वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत डायमण्ड रनिङ सिल्ड-२०८२ विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। मङ्सिर १५ गतेदेखि १९ गतेसम्म सञ्चालित सो खेलकुद कार्यक्रममा प्रतियोगितामा फुटबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबल,टेबल टेनिस र एथलेटिक्स विधाका खेलहरू खेलाइएको थियो। विद्यार्थीहरूमा सर्वाङ्गिण पक्षको विकास गराउँदै उनीहरूलाई नियमित रुपमा रचनात्मक र सिर्जनशील बनाइराख्न विद्यालयले २०७५ देखि नै हरेक वर्ष डायमण्ड रनिङ सिल्ड कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बास्केटबल र टेबल टेनिस विधाका प्रारम्भिक चरणका खेलहरू विद्यालयमा नै खेलाइएको थियो भने अन्य सम्पूर्ण विधाका खेलहरु पोखरा-२९ ,भण्डारढिकस्थित रङ्गशालामा खेलाइएको थियो। कार्यक्रम समापन तथा पुरस्कार वितरण समारोहको पहिलो सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले डायमन्डले शैक्षिक क्षेत्रमा मात्र नभई खेल क्षेत्रमा समेत राष्ट्रले गौरव गर्न लायक खेलाडी उत्पादन गरिरहेको भन्दै प्रशंसा गरे ।

विद्यालयका प्राचार्य यमबहादुर रोकाले स्वागत मन्तव्य राख्दै डायमण्ड रनिङ सिल्ड-२०८२ मा १ लाख राशि बराबरको पुरस्कार प्रदान गरिएको जानकारी दिए। कार्यक्रमको दोस्रो सत्रमा भने प्रमुख अतिथि वडा नम्बर २७ का अध्यक्ष पूर्णबहादुर गुरुङले सम्पूर्ण विधामा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरूलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरे।

विद्यालयका निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा सञ्चालित समापन समारोहको सञ्चालन शिक्षक प्रदिप पोख्रेल र नारायण वाग्लेले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: