२१औं लेखनाथ महोत्सवको तयारी तीव्र, महिला-आमा समूहको सक्रियताले बढायो उत्साह

Share:

पोखरा। लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औं लेखनाथ महोत्सव नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ। महोत्सवलाई सफल बनाउन स्थानीय संघ-संस्था तथा महिलारआमा समूहको शनिबार बसेको भेलाले सबै क्षेत्रको संयुक्त सहयोग अनिवार्य रहेको निष्कर्ष निकालेको छ।

प्रमुख अतिथि प्रेस रजिस्ट्रार विमला भण्डारीले लेखनाथ महोत्सवलाई नेपालकै उत्कृष्ट महोत्सवको रूपमा मूल्यांकन गर्दै यसको सफलतामा महिला तथा आमा समूहको भूमिकालाई विशेष श्रेय दिइन्। २९ वर्षे इतिहासमा लेखनाथ उद्योग वाणिज्य संघले महिला नेतृत्वलाई अवसर दिएको उल्लेख गर्दै उनले महिला सशक्तीकरण र उद्यमशीलता मार्फत समाज परिवर्तनमा योगदान दिनुपर्नेमा जोड दिइन्।

१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान उल्लेख गर्दै भण्डारीले हिंसाको बदलिँदो स्वरूपप्रति सचेत रहन र अन्याय सहन नबस्न सुझाव दिइन्।संघकी अध्यक्ष तथा महोत्सवकी मुल संयोजक जानुका पराजुलीले महोत्सवले विविध जातजाति र समुदायलाई एकैथलोमा ल्याई मौलिक संस्कार र संस्कृति जगेर्ना गर्दै आएको बताइन्।

उनका अनुसार लेखनाथमा आयोजना हुने कुनै पनि कार्यक्रम सफल हुनुमा स्थानीय संघ-संस्था र आमा समूहको एकता, साथ र सक्रियता मुख्य कारण हो। यसपालिको महोत्सव पनि भव्य र सफल हुनेमा उनले विश्वास व्यक्त गरिन्।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले लेखनाथ महोत्सवले क्षेत्रको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै २१औं महोत्सवलाई एकतापूर्वक सफल बनाउने आह्वान गरिन्। उनले महिला दिदीबहिनीलाई विशेष भूमिकासहित महोत्सवमा सक्रिय सहभागिता जनाउन आग्रह गरेकी थिइन्।

आमा समूहको सक्रिय प्रतिवद्धता

भेलामा सहभागी महिला आमा समूहका प्रतिनिधिहरूले झाँकी र्याली, मातृशक्ति सम्मान, रत्यौली प्रतियोगिता लगायतका कार्यक्रमबारे आफ्ना सुझाव र जिज्ञासा राखे। साथै, महोत्सवलाई सफल बनाउन आजैदेखि तयारी थाल्ने प्रतिवद्धता पनि व्यक्त गरे।

महिला आमा समूह परिचालन उप-समितिकी संयोजक सन्ध्या दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको सञ्चालन संघकी कार्यसमिति सदस्य तथा महिला विशेष कार्यक्रम संयोजक प्रतिक्षा रानाभाटले गरेकी थिइन्। धन्यवाद ज्ञापन महिला उद्यमी समन्वय उप-समितिकी संयोजक शर्मिला श्रेष्ठले गरिन्।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा पौष ३ गतेदेखि १४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ।गृहलक्ष्मी ग्यास कम्पनी प्रा।लि। मुख्य प्रायोजक रहेको छ भने बिएलसी ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट, हेटौडा डेरी सह–प्रायोजकका रूपमा रहेका छन्।

महोत्सवका प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन्। सबै व्यवस्था प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले समन्वय गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
Share: