नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै चीन उडे पोउवा संघका अध्यक्ष कार्की, ‘ल्याण्ड-सी ट्रेड करिडर’ को बैठकमा सम्बोधन गर्ने

Share:

पोखरा। नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की चीन प्रस्थान गरेका छन् । चीनको चुनकिङमा आयोजना हुने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन कार्की सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आधिकारिक प्रतिनिधिको रूपमा उनी चीन गएका हुन् ।

अध्यक्ष कार्कीले ‘एलायन्स अफ दी च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीज अफ दी न्यू इन्टरनेसनल ल्याण्ड-सी ट्रेड करिडर’ (ILSTC) को उच्चस्तरीय बैठकमा सहभागिता जनाउनेछन् ।

यो संस्था चीनले अघि सारेको महत्वाकांक्षी ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (BRI) परियोजना अन्तर्गत समेटिएका देशहरूको उद्योग वाणिज्य संघहरूको साझा संयन्त्र हो । यसले जमिन तथा समुन्द्र मार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने, व्यापारिक अवरोध हटाउने र नयाँ व्यापारिक सम्भावनाहरूको खोजी गर्ने उद्देश्य राखेको छ ।

चीन भ्रमणका क्रममा अध्यक्ष कार्कीले सो सम्मेलनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनले नेपालको निजी क्षेत्र, व्यापारिक अवसर र अन्तर्राष्ट्रिय कनेक्टिभिटीका विषयमा नेपालको धारणा राख्नेछन् ।

कार्यवाहकको जिम्मेवारी बास्तोलालाई

अध्यक्ष कार्की चीन भ्रमणमा रहेसम्मका लागि संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलालाई दिइएको छ । अध्यक्ष कार्की फर्किएपछि पुनः आफ्नो जिम्मेवारी सम्हाल्ने संघले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: