
पोखरा। पोखरा-४, गैहपाटनस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा यतिबेला उत्सवको माहोल छ । शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलापमा सक्रिय यो कलेजले आगामी मंसिर २६ गते (बुधबार) आफ्नो ‘चौथो लेकसिटी कार्निभल’ भव्य रूपमा आयोजना गर्दैछ ।
विद्यार्थीहरूको सिर्जनशीलता प्रस्फुटन गर्ने र स्थानीय संस्कृति तथा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्निभलको तयारी अन्तिम चरणमा पुगेको कलेजले जनाएको छ ।
विद्यार्थीकै व्यवस्थापनमा ‘फुड फेस्ट’ र प्रदर्शनी
क्याम्पस प्रमुख नारायण श्रेष्ठका अनुसार कलेजको खेलमैदानमा विशेष स्टेजसहित विभिन्न स्टलहरू रहनेछन् । कार्निभलमा विद्यार्थी र पूर्वविद्यार्थीहरूले नै व्यवस्थापन सम्हाल्नेछन् ।
“हामीले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक सीप पनि सिकाउन खोजेका छौं,” प्रमुख श्रेष्ठले भने, “त्यसैले स्टल व्यवस्थापनदेखि खानाका परिकार बनाउने र बेच्ने जिम्मा विद्यार्थीहरूकै हुनेछ ।”
कार्निभलमा स्थानीय उत्पादनहरू जस्तै मह, गुन्द्रुक-अचार, सातु, हस्तकलाका सामग्री र कपडाका झोलाहरूको प्रदर्शनी तथा बिक्री कक्ष रहनेछ । साथै, आगन्तुकहरूले सेलरोटी, मम, चाउमिन, चटपट, पानीपुरीलगायतका स्वादिलो परिकारको स्वाद लिन पाउनेछन् ।
लाखेनाचदेखि लाइभ कन्सर्टसम्म
कार्निभललाई मनोरञ्जनात्मक बनाउन सांगीतिक र सांस्कृतिक प्रस्तुतिको विशेष प्याकेज तयार पारिएको छ । कलेजका अतिरिक्त क्रियाकलाप (ECA) संयोजक अमोद प्रसाद कोइरालाका अनुसार विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन र मौलिक लाखेनाच प्रस्तुत गर्नेछन् ।
“यो कार्निभल विद्यार्थीको कला र प्रतिभा देखाउने मञ्च हो,” कोइरालाले भने । साँझपख ख्यातिप्राप्त स्थानीय ब्यान्डहरूको ‘लाइभ कन्सर्ट’ ले कार्निभलको माहोल थप तताउनेछ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भई वि.सं. २०६४ मा स्थापित लेकसिटी कलेजले बिबिएस, बिएएसडब्लु (समाजसेवा) र बिए (समाजशास्त्र, पत्रकारिता, अंग्रेजी साहित्य) संकायमा अध्यापन गराउँदै आएको छ ।
कलेजका सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलका अनुसार पढाइका अलावा कलेजले नियमित रूपमा शैक्षिक भ्रमण, खेलकुद, रक्तदान, वृक्षरोपण र ‘कचहरी’ जस्ता सामाजिक बहसका कार्यक्रमहरू गर्दै आएको छ ।
हाल ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत यस कलेजले आयोजना गर्न लागेको कार्निभल पोखराको शैक्षिक क्षेत्रमा एक ‘ब्रान्ड’ इभेन्टको रूपमा स्थापित हुँदै गएको छ ।
