
पोखरा । आगामी पुस २९ गतेदेखि सुरु हुने १४औं संस्करणको पोखरा महोत्सवको प्रचारप्रसार अभियान यसपटक फरक र रोमाञ्चक शैलीमा सुरु भएको छ। महोत्सव आयोजक युनाईटेड क्लब पोखराले ‘माइलस्टोन्स इन्फिल्डर्स’ सँगको सहकार्यमा देशका विभिन्न सहरबाट आएका ६० भन्दा बढी मोटरसाइकल राइडरहरूमार्फत प्रचार अभियानको थालनी गरेको हो। ‘राइड टु थ्री एङगल्स नेपाल’ भन्ने नारासहित हिमाल, पहाड र तराई जोड्ने अभियानमा निस्किएका राइडरहरूलाई पोखरामा भव्य स्वागत गर्दै महोत्सवको प्रचार आरम्भ गरिएको हो।
एक कार्यक्रमका बीच युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा र संस्थापक अध्यक्ष हिमालय बख्रेलले माइलस्टोन्स इन्फिल्डर्सका संयोजक कुशल सुवेदी र प्रतिनिधि मछिन्द्र थपलियालाई महोत्सवको प्रचारात्मक स्टीकर हस्तान्तरण गरे। सोही स्टीकर मोटरसाइकलमा टाँसेर प्रचारप्रसारको औपचारिक सुभारम्भ गरिएको थियो।
पर्यटन प्रवर्द्धनमा दुवै संस्थाको हातेमालो
कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पर्यटन प्रवर्द्धनमा राइडरहरूको भूमिकाको प्रशंसा गरे। उनले भने, “युनाईटेड क्लबले पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहल गरेर नयाँ पर्यटकीय गन्तव्य स्थापित गरेको छ, जुन अहिले प्रदेश गौरवको आयोजना बनेको छ। यस्तै नयाँ गन्तव्यको खोजीमा हिँडेको राइडर टोलीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ।”
माइलस्टोन्स इन्फिल्डर्सका प्रतिनिधि मछिन्द्र थपलियाले युनाईटेड क्लबको आतिथ्यता र सहकार्यप्रति आभार व्यक्त गर्दै महोत्सवको सफलताको कामना गरे। उनले बाइक राइडमार्फत देशका लुकेका पर्यटकीय गन्तव्य चिनाउने आफ्नो अभियानमा पोखरा महोत्सव जोडिनु सुखद रहेको बताए।
क-कसको छ सहभागिता ?
प्रचार अभियानमा काठमाडौं, धरान, हेटौंडा, चितवन, बुटवल र पोखरा लगायतका सहरबाट आएका ६० भन्दा बढी राइडरहरूको सहभागिता छ। चितवनबाट सुरु भएको यो यात्रा पोखरा हुँदै कास्कीको अस्ताम, पोथाना, लुम्ले हुँदै काँडेसम्म पुग्नेछ।
र्यालीमा योंग इन्फिल्डर्स, स्मार्ट बुलेट सर्भिस सेन्टर, हेटौंडा लेजेण्डस, रोलिङ विंग्स, हेलबन्डु एमसी काठमाडौं, बुलेट हाउस चितवन लगायत दर्जनभन्दा बढी राइडर समूहहरूको सहभागिता रहेको छ।
यसपटकको महोत्सवमा प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ। क्लबका महासचिव दिनेश सुनारका अनुसार महोत्सवमा ‘वी पोखरा’ एप सार्वजनिक गरिनेछ। ‘वी पोखरा’ र ‘माइलस्टोन’ को सहकार्यमा ल्याउन लागिएको यो एपले पोखराको पर्यटन प्रवर्द्धन र सूचना प्रवाहमा टेवा पुर्याउने विश्वास लिइएको छ।
सामाजिक सेवा र पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर आयोजना गरिँदै आएको पोखरा महोत्सव यस वर्ष आगामी पुस २९ देखि माघ ११ गतेसम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुनेछ। क्लबका अध्यक्ष लोक बहादुर थापाले महोत्सव सफल पार्न सम्पूर्ण पोखरेलीको साथ र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।
