हिमालय क्रिकेट एकेडेमी कप : जनप्रकाश र त्रिवेणीको शानदार जित, हिमाल र युवराजको उत्कृष्ट प्रदर्शन

Share:

पोखरा । पोखरा क्रिकेट मैदानमा जारी ‘हिमालय क्रिकेट एकेडेमी कप २०८२’ यु-१६ अन्तर विद्यालय पुरुष टि-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन जनप्रकाश मावि र त्रिवेणी सेकेण्डरी स्कुलले आ-आफ्नो खेलमा शानदार जित हात पारेका छन् । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता रोमाञ्चक मोडमा अघि बढेको छ ।

मंगलबार भएको पहिलो खेलमा जनप्रकाश माविले टस जितेर फिल्डिङ रोज्यो । जनप्रकाशका बलरहरुको कसिलो बलिङका सामु टप्स माविका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन् । टप्स १६.५ ओभरमा ११० रनमै अलआउट भयो । टप्सका लागि आयुष सुनारले २९ र शिव सुवेदीले २२ रन बनाए पनि टोलीलाई ठूलो स्कोरमा लैजान सकेनन् । जनप्रकाशका हिमाल आचार्यले घातक बलिङ गर्दै ३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए भने निश्चल आचार्यले ३ र संसार दर्जीले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको जनप्रकाशले १४.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका लागि संसार दर्जीले ३६ र अभिशेक कुमालले २८ रनको योगदान दिए । खेलमा उत्कृष्ट बलिङ गरेका जनप्रकाशका हिमाल आचार्य ‘म्यान अफ दी म्याच’ घोषित भए ।

युवराज चम्किँदा त्रिवेणीको ९ विकेटको फराकिलो जित

दोस्रो खेलमा त्रिवेणी सेकेण्डरी स्कुलले ग्लोबल कलेजियटमाथि एकतर्फी जित निकाल्यो । टस हारेर ब्याटिङको निम्तो पाएको ग्लोबल कलेजियट १७.४ ओभरमा जम्मा ८२ रनमा समेटियो ।

ग्लोबललाई सस्तैमा समेट्न त्रिवेणीका युवराज कँडेल नायक बने । उनले ४ ओभरमा १ मेडेन राख्दै १८ रन दिएर ४ विकेट लिए । अरुण नियोरले पनि २ विकेट हात पारे ।

८३ रनको सामान्य लक्ष्य पछ्याएको त्रिवेणीले ८.६ ओभरमै मात्र १ विकेट गुमाएर जित हासिल गर्यो । त्रिवेणीका सौगात रसाइलीले ३० र वकिल पुनले २३ रन बनाउँदै टोलीलाई सहज जित दिलाए । खेलमा ४ विकेट लिएका त्रिवेणीका युवराज कँडेल ‘म्यान अफ दी म्याच’ चुनिए ।

प्रतियोगिता अन्तर्गत तेस्रो दिन (बुधबार) पहिलो खेल नविन मावि र हार्वड एकेडेमीबीच तथा दोस्रो खेल डायमण्ड र त्रिवेणी सेकेण्डरी स्कुलबीच हुने प्रतियोगिता संयोजक विरेन्द्र पुनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: