
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को इतिहासमै लुम्बिनी लायन्सलाई पहिलोपटक उपाधि जिताउने कप्तान बनेका रोहित पौडेलले प्रतियोगितामा आफूलाई सर्वोत्कृष्ट नेपाली खेलाडीका रूपमा स्थापित गरेका छन्।
एनपीएलको रोमाञ्चक फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै रोहितले लुम्बिनीलाई च्याम्पियन बनाएका हुन्। उनको निरन्तरता, नेतृत्व क्षमता र अलराउन्ड प्रदर्शनकै कारण उनी सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए। यस उपलब्धिसँगै उनले कार पुरस्कार प्राप्त गरेका छन्।
फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध रोहितले तीन महत्वपूर्ण विकेट लिँदै विपक्षी टोलीलाई दबाबमा राखेका थिए। एनपीएलभरि उनले कुल ९ विकेट लिँदै बलिङमा पनि प्रभाव जमाए।
ब्याटिङतर्फ पनि रोहितको प्रदर्शन अतुलनीय रह्यो। फाइनलमा १६ रन जोड्दै उनी प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी बने। उनले १० खेलमा कुल २७६ रन बनाउँदै सर्वाधिक रन बनाउने नेपाली ब्याटरको कीर्तिमान समेत कायम गरे।
सर्वोत्कृष्ट नेपाली खेलाडी बनेबापत कार र सर्वाधिक रन बनाउने नेपाली ब्याटरका रूपमा मोटरसाइकल पुरस्कार प्राप्त गर्नु रोहितको मेहनतको प्रतिफल हो।
नेपाली क्रिकेटका उदीयमान स्टार रोहित पौडेलले एनपीएल ९ मा देखाएको प्रदर्शनले भविष्यमा अझ ठूलो उपलब्धिको संकेत गरेको छ।
