
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी रहँदा मुलुकभर राजनीतिक गतिविधि तीव्र रूपमा बढेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोटदेखि चुनावी सभासम्म सक्रिय देखिएका छन् भने निर्वाचन आयोग र सरकार तयारीलाई अन्तिम चरणमा पुर्याउँदै छन् ।
प्रमुख राजनीतिक दलहरू-नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)-आ-आफ्नै रणनीतिका साथ चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेस उम्मेदवार छनोट प्रक्रियामा सबैभन्दा अगाडि देखिएको छ । कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फका साथै राष्ट्रिय सभाका उम्मेदवारको नाम जिल्लाबाट केन्द्रमा मागिसकेको छ ।
शनिबारदेखि ११औँ महाधिवेशन सुरु गरेको नेकपा (एमाले) ले महाधिवेशनलाई नै चुनावी अभियानसँग जोडेको छ । अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष र स्वतन्त्र निर्वाचनको वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘दबाब र प्रतिशोधमुक्त वातावरणमा चुनाव भए एमाले बहुमत ल्याउन सक्षम छ, हामी चुनावबाट भाग्दैनौँ ।’
विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ‘सन्देश सभा’ मार्फत जनसम्पर्क बढाएको छ । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभा गरेको नेकपाले आगामी पुस ५ गते काठमाडौंमा ठूलो सभा गर्ने तयारी गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै पार्टी त्यसका लागि पूर्ण रूपमा क्रियाशील रहेको बताएका छन् ।
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि चुनावी तयारी तीव्र बनाएको छ । पार्टीले वाचापत्र तयारीसँगै समानुपातिक उम्मेदवार छनोट प्रक्रियालाई अघि बढाएको छ ।
यसैबीच निर्वाचन आयोगले समानुपातिकतर्फ सहभागी दलहरूलाई निर्वाचन चिह्न प्रदान गरिसकेको छ । समानुपातिकतर्फ १०० दलले आवेदन दिए पनि संयुक्त चिह्न लिएका कारण ९३ वटा मात्र निर्वाचन चिह्न कायम भएका छन् । प्रत्यक्षतर्फ भने ११४ दल चुनावी प्रतिस्पर्धामा रहनेछन् । आयोग हाल जनसंख्याका आधारमा समावेशी समूहको प्रतिशत निर्धारण र आचारसंहिता निर्माणमा जुटेको छ ।
सुरक्षा व्यवस्थापनका लागि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालनको स्वीकृति दिइसकेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भइसकेको स्पष्ट पारेका छन् ।
