पोखरा महोत्सवको १४ औँ संस्करणमा ‘बेटर’ पुनः मुख्य प्रायोजक

Share:

पोखरा। विद्युतीय सामग्री उत्पादक कम्पनी ‘बेटर’ ले १४ औँ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजन गर्ने भएको छ। विगत चार वर्षदेखि निरन्तर रूपमा पोखरा महोत्सवको मुख्य प्रायोजन गर्दै आएको बेटरले यस वर्ष पनि आफ्नो सहकार्यलाई निरन्तरता दिएको हो।

शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय रहँदै आएको युनाइटेड क्लबले आगामी पुष २९ गतेदेखि माघ ११ गतेसम्म पोखराको अमर सिंह चौर मा १४ औँ संस्करणको पोखरा महोत्सव आयोजना गर्न लागेको हो।

महोत्सवको मुख्य प्रायोजकका रूपमा बेटर ब्रान्ड उत्पादक रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रालि र महोत्सव आयोजक युनाइटेड क्लबबीच मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। सम्झौतापत्रमा रवि एण्ड सन्नी इन्डष्ट्रिजका निर्देशक सन्नी रौनियार र युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापा ले हस्ताक्षर गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै निर्देशक रौनियारले पोखरामै बसेर देशभर सामाजिक कार्यमा सक्रिय युनाइटेड क्लबसँग चौथो पटक सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। बेटर ब्रान्डप्रति उपभोक्ताको बढ्दो आकर्षणका बीच सामाजिक उत्तरदायित्व बोकेको पोखरा महोत्सवसँग जोडिनु गर्वको विषय भएको उनको भनाइ थियो।

पोखरा नयाँबजारमा कर्पोरेट अफिस रहेको रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रालिले बेटर ब्रान्डअन्तर्गत इलेक्ट्रिक तथा किचन सामग्रीहरू देशभर बिक्री वितरण गर्दै आइरहेको छ।

युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले १४ औँ संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रिजसँग पुनः सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। सहयोगी हातहरुकै कारण पोखरा महोत्सव आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै, महोत्सवबाट प्राप्त आम्दानी सामाजिक सेवामा खर्च हुँदै आएको जानकारी दिए।

सो अवसरमा युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: