
पोखरा । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको सम्मानमा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा कास्कीमा क्रियाशील विभिन्न सामुदायिक सेवा केन्द्रले आइतबार संयुक्त रुपमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेका छन् ।
कार्यक्रममा बोल्दै महानिरीक्षक कार्कीले मुलुकभर शान्ति सुरक्षा कायम गर्नु नेपाल प्रहरीको पहिलो प्राथमिकता रहेको स्पष्ट पारे । सुरक्षालाई केवल अपराध नियन्त्रणमा मात्र सीमित गरेर हेर्न नहुने उल्लेख गर्दै उनले खाद्य, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा समेत समग्र मानव सुरक्षासँग जोडिने विषय भएको बताए ।
पर्यटकीय नगरी पोखराका बैदाम, सौराह, लुम्बिनी र ठमेलजस्ता क्षेत्र २४सै घण्टा खुला राख्दा सुरक्षा चुनौती थपिएको उनको भनाइ थियो । पर्यटकीय क्षेत्र र आवासीय क्षेत्र छुट्याएर जोनिङ नगरिँदा अवस्था भद्रगोल बनेको उल्लेख गर्दै उनले भने,
“पर्यटकीय क्षेत्र २४सै घण्टा खोल्नुपर्ने माग पनि छ, नखोल्नुपर्ने आवाज पनि एकसाथ उठेको छ । कास्कीको एसपी हुँदादेखि नै यो विषय जोडिँदै आएको हो ।”
छिमेकीलाई असर नपर्ने गरी डिस्को, दोहोरी तथा मनोरञ्जन स्थल सञ्चालन गर्न साउण्डप्रुफ व्यवस्था अनिवार्य हुनुपर्नेमा उनले जोड दिए । साथै शान्ति सुरक्षाका लागि सिसी क्यामरा जडान, सुरक्षाकर्मीको व्यवस्था, धुम्रपान क्षेत्र छुट्याउने र पर्याप्त पार्किङ स्थलको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
बढ्दो शहरीकरणसँगै लागुऔषध सेवन तथा कारोबारको जोखिम बढ्दै गएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले बालबालिकालाई जोगाउन अभिभावकले नै सचेतना अभियान थाल्नुपर्ने बताए ।
सामुदायिक सेवा केन्द्रलाई अपराध नियन्त्रणसँग प्रत्यक्ष रुपमा जोडिन आग्रह गर्दै उनले समुदायका समस्या पहिचान गरी शान्ति सुरक्षाका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए । समुदायमा मेलमिलाप र सद्भाव कायम नगरी शान्ति सुरक्षा सम्भव नहुने उनको भनाइ थियो ।
“समाजसेवा शुल्क लिएर गर्ने काम होइन,” उनले भने, “उच्च नैतिक चरित्र भएका व्यक्तिले मात्र सामुदायिक सेवा केन्द्रको नेतृत्व गर्न सक्छन् ।”
गण्डकी प्रदेशमा सामुदायिक सेवा केन्द्रमार्फत १५ हजार ५ सय ५० कार्यक्रम सञ्चालन भएको जानकारी दिँदै उनले ती कार्यक्रमको समीक्षा गरी प्रभावकारी कार्यक्रमलाई मात्र निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम कार्की, वरिष्ठ उपाध्यक्ष मनपति भण्डारी, प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाया, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी तथा पर्यटन व्यवसायी कृष्ण आचार्य र शोभा पाण्डेले पर्यटन प्रवर्द्धन र शान्ति सुरक्षाबीचको सम्बन्धबारे धारणा राखेका थिए ।
