
पोखरा । तामाङ समुदायका छोरी-चेलीको भाषा, संस्कार, संस्कृति र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यसहित ‘मिस तामाङ पोखरा-२०२६’ औपचारिक रूपमा सुरु भएको छ। बैदाम तामाङ सेवा समाजको आयोजनामा सोनाम ल्होसारको अवसर पारेर हरेक वर्ष सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष पनि निरन्तरता पाएको हो।
कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको तालिम तथा ओरिएन्टेशन कार्यक्रमको उद्घाटन तामाङ भाषाविद् अजितमान तामाङले गरेका थिए। उद्घाटन समारोहमा उनले तामाङ भाषा, संस्कार र सांस्कृतिक पहिचान संरक्षणमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै मौलिक पहिचान जोगाउन युवतीहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखरा केवल सौन्दर्य प्रतियोगिता नभई सांस्कृतिक चेतना, सामाजिक जिम्मेवारी र नेतृत्व विकासको अभियान भएको स्पष्ट पारे।
“तामाङ समुदायका छोरी-चेलीले आफ्नो भाषा, पहिचान र संस्कार बुझेर आत्मविश्वासका साथ अघि बढून् भन्ने हाम्रो उद्देश्य हो,” उनले भने, “मिस तामाङ पोखरा समुदायको गौरव र भविष्य निर्माण गर्ने मञ्च हो।”
कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङले प्रतियोगितामार्फत युवतीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक चेतनाको विकास गराउने लक्ष्य रहेको बताइन्। उनका अनुसार यो प्रतियोगिताले तामाङ समुदायका छोरी-चेलीलाई आफ्नो मौलिकता चिन्न र समाजमा सक्षम रूपमा प्रस्तुत हुने अवसर प्रदान गर्दै आएको छ।
तालिम संयोजक तथा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले तालिमलाई केवल प्रतियोगिताको तयारीमा सीमित नराखी जीवन उपयोगी सीप, प्रभावकारी बोल्ने कला र सांस्कृतिक ज्ञानमा केन्द्रित गरिएको जानकारी दिए।
कार्यक्रममा नेपाल जेसिसका पूर्व अध्यक्ष राजु कसी, नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय उपाध्यक्ष, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश उपाध्यक्ष रामबहादुर ब्लोन शिबु, डान्स कोरियोग्राफर राम लामा, कोरियोग्राफर जिता लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सुनिता लामाले गरेकी थिइन्।
यस वर्षको मिस तामाङ पोखरामा १२ जना तामाङ समुदायका युवती सहभागी छन्। सहभागीहरूमा रोज स्याङदेन लामा, कविना घिसिङ तामाङ, सोनी पाख्रिन तामाङ, माया दुम्जन तामाङ, खुसी मोक्तान तामाङ, सुप्रिया गोले तामाङ, सलिना स्याङदेन तामाङ, सोममाया मोक्तान तामाङ, एन्जेल लामा, सुमित्रा तामाङ, खुसी लामा र प्रभा तामाङ रहेका छन्।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन्। फस्ट रनरअपले नगद ५० हजार, सेकेन्ड रनरअपले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने भ्युवर्स च्वाइस अवार्डअन्तर्गत एकजनाले नगद २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
आयोजकका अनुसार मिस तामाङ पोखरा-२०२६ अन्तर्गत विभिन्न चरणमा भाषा, संस्कृति, व्यक्तित्व विकास र नेतृत्वसम्बन्धी तालिमहरू सञ्चालन गरिनेछ। प्रतियोगिताको ग्रान्ड फिनाले सोनाम ल्होसारको अवसरमा यही माघ ३ गते शनिबार आयोजना हुनेछ।
